सिन्धुली,३२ असार – कमलामाई नगरपालिका वडडा नं.४ को ढुंग्रेबास र ६ को धुरा क्षेत्र जोड्ने निर्माणाधीन पक्की पुल निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीले आवतजावतमा निरन्तर सास्ती व्यहोर्नुपरेको छ । २०८० साल असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले अलपत्र परेपछि पुलबाट सहज यातायातको अपेक्षा गरेका स्थानीय अहिले निराश बनेका छन् ।
स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएपछि दुवै बस्तीबीचको आवतजावत सहज हुने, दैनिक जीवनयापन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर निर्माण कार्य लामो समयदेखि ठप्प रहँदा उनीहरूले अझै पुरानै कठिनाइ भोग्न बाध्य भएको बताएका छन् । विकास निर्माणका नाममा विभिन्न बहाना बनाएर स्थानीयको अपेक्षामाथि खेलवाड गर्न कसैलाई पनि अधिकार नभएको उनीहरूको भनाइ छ ।
ढुंग्रेबास र धुरा जोड्ने उक्त पक्की पुल निर्माणका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत मूल्य अभिवृद्धि करसहित ८ करोड ७६ लाख ६ सय रुपैयाँ लागतमा आयोजना स्वीकृत गरिएको थियो । २०७७ साल भदौ १० गते महादेव–खिम्ती–अन्जना–सारस जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र, अर्थात् २०८० असारभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर निर्धारित समय बितिसक्दा पनि आयोजना पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीका प्रतिनिधि रमेश कुँवरले पुल निर्माणमा आएको अवरोधको मुख्य कारण प्रारम्भिक डिजाइनमा रहेको प्राविधिक त्रुटि भएको बताएका छन् । उनका अनुसार पुल महाशाखाबाट प्राप्त डिजाइन कार्यान्वयनका दृष्टिले उपयुक्त नभएकाले निर्माण प्रक्रिया प्रभावित भएको हो । त्यसपछि डिजाइन सच्याउने र विभागबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया पटक–पटक लम्बिँदा आयोजना विगत दुई वर्षदेखि प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनले जानकारी दिए ।
निर्माण पक्षका अनुसार विभागबाट नयाँ डिजाइन स्वीकृत हुन ढिलाइ हुँदा काम निरन्तर रोकिएको मात्र होइन, आर्थिक रूपमा पनि निर्माण कम्पनीले उल्लेख्य क्षति बेहोर्नुपरेको छ । करिब नौ करोड रुपैयाँ लागतको आयोजनामा भएको लामो ढिलाइका कारण स्थानीय असन्तुष्टि बढ्दै गएको उनीहरूको भनाइ छ । विभागबाट संशोधित डिजाइन स्वीकृत भएर प्राप्त भए साउन महिनादेखि पुनः निर्माण कार्य सुचारु गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
यता स्थानीयवासी भने पुल निर्माणमा भएको ढिलाइले आफूहरूको दैनिक जीवन प्रत्यक्ष रूपमा प्रभावित भएको बताउँछन् । वर्षायाममा विशेष गरी आवतजावत थप जोखिमपूर्ण हुने गरेको उनीहरूको गुनासो छ । निर्धारित समयमै सम्पन्न हुनुपर्ने आयोजनामा पटक–पटक अवरोध सिर्जना हुँदा विकास आयोजनाप्रतिको विश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।