शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मनसुनजन्य विपद् प्रतिकार्य सुदृढ गर्न सिन्धुलीलाई उद्धार सामग्री

मंगलवार , आषाढ ३०, २०८३


सिन्धुली,३० असार — मनसुनजन्य विपद्का समयमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, सुरक्षित र छरितो बनाउने उद्देश्यले सिन्धुली जिल्ला विपद् व्यवस्थापन समितिलाई करिब दस लाख रुपैयाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग तथा ह्यान्ड्स नेपाल सिन्धुली को आयोजनामा सम्पन्न कार्यक्रममा विपद् उद्धारमा प्रयोग हुने विभिन्न अत्यावश्यक सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराइएको हो । हस्तान्तरण गरिएका सामग्रीमा राफ्टबोट, राफ्टबोट सञ्चालनका लागि आवश्यक विद्युतीय पम्प, उद्धार प्रयोजनका लागि प्रयोग हुने बेडस्ट्रेचर तथा पाँच मिलिमिटर मोटाइका सुरक्षा डोरी लगायतका सामग्री रहेका छन् ।

कार्यक्रममा ह्यान्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी दनुवार ले ती सामग्री प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री हस्तान्तरणसँगै मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी उद्धारमा संलग्न सुरक्षा निकाय तथा सम्बन्धित निकायले अत्यावश्यक उपकरणको अभाव महसुस गर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता सामग्री उपयोगी हुने विश्वास गरिएको छ ।

ह्यान्ड्स नेपाल सिन्धुलीले स्थानीय तह तथा जिल्ला स्तरमा विपद् जोखिम न्यूनीकरण र उद्धार क्षमताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । सोही अभियानअन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको संस्थाको भनाइ छ ।

कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीले मनसुनजन्य विपद्का बेला उद्धार कार्यमा संलग्न निकायलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने र जोखिममा परेका नागरिकको उद्धारलाई अझ छिटो, सुरक्षित तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा ह्यान्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी दनुवार ले खोज तथा उद्धार क्षमतालाई सुदृढ बनाउने उद्देश्यले सामग्री उपलब्ध गराइएको उल्लेख गरे। सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ ले प्राप्त उपकरणलाई आवश्यकता अनुसार प्रभावकारी रूपमा परिचालन गरी विपद्का समयमा नागरिकको जीवन रक्षामा अधिकतम उपयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया