शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रोशीको जोखिम घटेपछि बीपी राजमार्गमा सवारी सञ्चालन पुनः सुचारु

मंगलवार , आषाढ ३०, २०८३

काभ्रेपलाञ्चोक, ३० असार – रोशी खोलाको बहाव तथा सडकको अवस्थाको पुनः मूल्याङ्कनपछि बीपी राजमार्गमा सुरक्षाका दृष्टिले अस्थायी रूपमा रोकिएका सम्पूर्ण सवारी साधन पुनः सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार मंगलबार बिहानदेखि राजमार्गमा सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ । सडकको अवस्था अनुकूल देखिएपछि यसअघि विभिन्न स्थानमा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ अघि बढ्न अनुमति दिइएको उनले जानकारी दिए ।

यसअघि सोमबार रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण नदीको बहाव बढ्न सक्ने तथा बीपी राजमार्गमा सम्भावित जोखिम उत्पन्न हुन सक्ने आकलन गरिएको थियो । सोही जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे र मंगलटार क्षेत्रमा सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको थियो ।

प्रहरीका अनुसार हाल राजमार्गमा सवारी सञ्चालनमा कुनै अवरोध नरहेको छ । सडक खुला रहे पनि मनसुन सक्रिय रहेकाले मौसममा आउने परिवर्तनसँगै सडकको अवस्था जुनसुकै बेला प्रभावित हुन सक्ने सम्भावनालाई नकार्न नसकिने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले यात्रा सुरु गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ । आपत्कालीन वा सडक अवस्थासम्बन्धी सूचना प्राप्त गर्न नेपाल प्रहरीको आपत्कालीन नम्बर १००, ट्राफिक प्रहरीको नम्बर १०३ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको आपत्कालीन फोन नम्बर १२३४ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।

प्रहरीले वर्षायाममा नदीको बहाव, पहिरो तथा सडक क्षतिको जोखिम बढ्ने भएकाले यात्राका क्रममा उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनालाई आधार मानेर मात्र यात्रा तय गर्न सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया