शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मरिणमा राति १० बजे पछि पसल सञ्चालनमा रोक

मंगलवार , आषाढ ३०, २०८३


सिन्धुली,३० असार  — सिन्धुलीको मरिण गाउँपालिकाले गाउँपालिकाभित्र शान्ति–सुरक्षा, सामाजिक सद्भाव, सुव्यवस्था तथा अमनचयन कायम राख्ने उद्देश्यसहित राति १० बजेपछि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाले उक्त निर्णयको पूर्ण कार्यान्वयन गर्न व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई आग्रह गर्दै उल्लंघन गर्ने व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

मरिण गाउँ कार्यपालिकाको कार्यालय, कपिलाकोटले आइतबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार गाउँ कार्यपालिकाको असार २४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सूचना असार २९ गते प्रकाशित गरिएको हो ।

गाउँपालिकाका अनुसार पछिल्लो समय मादक पदार्थको दुरुपयोग, अनावश्यक होहल्ला, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्दै गाउँपालिकाभित्र शान्त, सुरक्षित र व्यवस्थित वातावरण कायम राख्ने उद्देश्यले रातिको समयमा व्यवसाय सञ्चालनमा समयसीमा निर्धारण गरिएको हो ।

निर्णयअनुसार अब गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित होटल, रेष्टुरेन्ट, मदिरा तथा कोल्ड ड्रिंक बिक्री–वितरण गर्ने पसलका साथै अन्य सबै प्रकारका व्यवसायिक पसलहरू राति १० बजेपछि सञ्चालन गर्न पाइने छैन । तोकिएको समयपछि कुनै पनि व्यवसाय सञ्चालन नगर्न गाउँपालिकाले स्पष्ट निर्देशन दिएको छ ।

गाउँपालिकाले व्यवसायी समुदायलाई कार्यपालिकाको निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै स्थानीय शान्ति, सुरक्षा र सामाजिक अनुशासन कायम राख्ने साझा अभियानमा सबै व्यवसायी, सरोकारवाला निकाय तथा आम नागरिकको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकालाई थप शान्त, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य अपेक्षित रहेको जनाएको छ ।

सूचनामा गाउँ कार्यपालिकाको निर्णयको अवज्ञा गर्दै तोकिएको समयपछि व्यवसाय सञ्चालन गरेको पाइएमा वा निर्णय उल्लंघन भएको प्रमाणित भएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने स्पष्ट गरिएको छ ।
गाउँपालिकाले यो सूचना सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको जनाएको छ । निर्धारित समयसीमाको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक शान्ति, सामाजिक सद्भाव र स्थानीय सुरक्षा व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ ।

marin.jfif
undefined

 

प्रतिक्रिया