सिन्धुली,२९ असार — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थित चायाचुटी क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको एक थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार अन्दाजी ११ः३० बजे प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको गस्ती टोली नियमित गस्तीका क्रममा हरिहरपुरगढी गाउँपालिका–४ को चायाचुटीस्थित खोलामा पुगेको थियो । त्यस क्रममा खोलामाथि रहेको कल्भर्टको मुनिको भित्तामा प्लास्टिकले बेरिएको अवस्थामा बेवारिसे रूपमा राखिएको एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार गस्ती टोलीले शंकास्पद रूपमा प्लास्टिकमा बेरेर राखिएको वस्तुको निरीक्षण गर्दा उक्त भरुवा बन्दुक फेला परेको थियो। त्यसपछि बन्दुकलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा राखिएको तथा यसको उत्पत्ति, प्रयोग र कसले त्यहाँ ल्याएर छाडेको हो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जारी गरेको सूचनामा घटनासँग सम्बन्धित सबै पक्षबारे आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । बन्दुक कसको हो, कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो वा कसरी उक्त स्थानमा पुग्यो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट प्राप्त हुने तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ ले जारी गरेको सूचनामा नियमित गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक फेला परेको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान कार्य जारी रहेको जानकारी दिएका छन् ।
प्रहरीले शंकास्पद वस्तु वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गर्दै यस्ता घटनाप्रति संवेदनशील रहन पनि अनुरोध गरेको छ । हालसम्म घटनासँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरिएको छैन भने अनुसन्धानको निष्कर्षपछि थप जानकारी उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।