काभ्रेपलाञ्चोक, २९ असार — दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा आइतवार राति गएको पहिरोमा परी चार महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार आइतबार राति करिब ९ बजे आएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो । घटनामा उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन् ।
प्रहरीका अनुसार शर्मिला थामी आफ्नी छोरी एलिनालाई साथमा लिएर भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीघरबाट कालिञ्चोक गाउँपालिकास्थित घर फर्कंदै थिइन् । उनीहरू बोलेरो गाडीमार्फत यात्रा गरिरहेका बेला सुनखानी–साङवा सडक खण्डअन्तर्गत क्याङ्पोल हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यात्रुहरू गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा अर्को पहिरो खस्दा आमा–छोरी त्यसको चपेटामा परेका थिए ।
घटनालगत्तै स्थानीयवासीले उद्धार गरी दुवैलाई उपचारका लागि दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याइएपछि चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए ।
घटनामा गम्भीर घाइते भएकी शर्मिला थामीको शाखा अस्पतालमा प्रारम्भिक उपचार गरिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको सूचना अधिकारी खड्काले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे आवश्यक विवरण संकलन तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जनाएको छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गर्दै आएका छन् ।