शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका तीन पालिकाले सार्वजनिक गरे वित्तीय प्रगति

सोमवार , आषाढ २९, २०८३

सिन्धुली,२९ असार — सिन्धुली जिल्लाका तीन स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । आर्थिक वर्षको भुक्तानी निकासा बन्द भएसँगै कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत चालु तथा पुँजीगत खर्चसहित समग्र बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार तीनवटै स्थानीय तहमध्ये कमलामाई नगरपालिकाले सबैभन्दा बढी ८३ दशमलव २८ प्रतिशत बजेट खर्च गरेको छ । मरिण गाउँपालिकाको वित्तीय प्रगति ७८ दशमलव १५ प्रतिशत र हरिहरपुरगढी गाउँपालिकाको ७७ दशमलव ४४ प्रतिशत रहेको छ ।

कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित एक अर्ब ३२ करोड ६९ लाख ३५ हजार २ सय २७ रुपैयाँ ४३ पैसामध्ये एक अर्ब १० करोड ५१ लाख १३ हजार ३ सय १४ रुपैयाँ ७८ पैसा खर्च गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी र लेखा अधिकृत टेकेन्द्र कार्कीद्वारा हस्ताक्षरित सूचनाअनुसार चालुतर्फ ८६ दशमलव ९७ प्रतिशत तथा पुँजीगततर्फ ७२ दशमलव ५६ प्रतिशत बजेट कार्यान्वयन भएको उल्लेख छ ।

त्यसैगरी, हरिहरपुरगढी गाउँपालिकाले कुल ६८ करोड ७६ लाख ४१ हजार २ सय ३२ रुपैयाँ विनियोजित बजेटमध्ये ५३ करोड २५ लाख ५८ हजार ६ सय २८ रुपैयाँ ८६ पैसा खर्च गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी न्यौपाने र आर्थिक प्रशासन प्रमुख अनमोल हजराको संयुक्त हस्ताक्षरमा जारी सूचनाअनुसार यो कुल बजेटको ७७ दशमलव ४४ प्रतिशत खर्च हो ।

गाउँपालिकाले चालुतर्फ ४८ करोड ९ लाख १५ हजार ५ सय ५५ रुपैयाँ विनियोजन गरेकोमा ३८ करोड २६ लाख ६५ हजार ९२ रुपैयाँ ७ पैसा अर्थात् ७९ दशमलव ५६ प्रतिशत खर्च गरेको जनाएको छ । यस्तै, पुँजीगततर्फ विनियोजित २० करोड ६७ लाख २५ हजार ६ सय ७७ रुपैयाँमध्ये १४ करोड ९८ लाख ९३ हजार ५ सय ३६ रुपैयाँ ७९ पैसा खर्च भएको छ, जुन ७२ दशमलव ५१ प्रतिशत हो ।

उता, मरिण गाउँपालिकाले असार २५ गतेसम्मको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको कुल बजेटमध्ये ७८ दशमलव १५ प्रतिशत खर्च भएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार चालुतर्फ ८४ दशमलव १८ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको छ ।आर्थिक वर्षको अन्त्यसँगै स्थानीय तहहरूले सार्वजनिक गरेका यी विवरणले बजेट कार्यान्वयनको अवस्था र खर्च प्रगतिको तस्वीर प्रस्तुत गरेका छन् । तीनवटै स्थानीय तहमा चालु खर्चको कार्यान्वयन पुँजीगत खर्चको तुलनामा उल्लेख्य रूपमा उच्च देखिएको छ ।

प्रतिक्रिया