शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सब–इन्जिनियरको बाटो छाडेर अकबरे खेतीमा समर्पित समीर

आइतवार , आषाढ २८, २०८३

सिन्धुली,२८ असार – सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, सिमलटारका २३ वर्षीय समीर बस्नेतले प्राविधिक शिक्षाबाट आर्जित योग्यतालाई रोजगारीमा मात्र सीमित नराखी व्यावसायिक कृषितर्फ आफ्नो भविष्य निर्माण गर्ने बाटो रोजेका छन् । काठमाडौंमा सिभिल सब–इन्जिनियरको अध्ययन पूरा गरेका उनले अध्ययनपछि करिब एक वर्ष आफ्नै विषयसँग सम्बन्धित क्षेत्रमा काम गरे पनि दीर्घकालीन सम्भावना कृषि क्षेत्रमा देखेपछि तीन वर्षअघि गाउँ फर्किएर अकबरे खोर्सानीको व्यवसायिक खेती सुरु गरेका हुन् ।

समीरले व्यावसायिक खेतीको सुरुआत पहिलो वर्ष पाँच रोपनी जग्गाबाट गरेका थिए । प्रारम्भिक अनुभवसँगै उनले दोस्रो वर्ष खेतीको क्षेत्रफल बढाएर २५ रोपनी पु¥याए भने यस वर्ष विस्तार गर्दै करिब ४० रोपनी जग्गामा अकबरे खोर्सानी खेती गरेका छन् । छोटो अवधिमै खेतीको क्षेत्र विस्तार हुनु कृषि व्यवसायप्रतिको उनको प्रतिबद्धता र आत्मविश्वासको संकेतका रूपमा हेरिएको छ ।

उनको कृषि यात्रामा परिवारको पनि उल्लेखनीय साथ रहेको छ । समीरका दुई भाइसमेत खेतीपातीको काममा सक्रिय रूपमा संलग्न छन् । पारिवारिक सहकार्यका कारण खेती व्यवस्थापन र विस्तारमा सहजता पुगेको उनीहरूको अनुभव छ ।

व्यावसायिक खेतीको सुरुआती चरण भने चुनौतीरहित थिएन । पहिलो र दोस्रो वर्ष आवश्यक अनुभवको कमीका कारण बिरुवाको व्यवस्थापन प्रभावकारी हुन नसक्दा हाइब्रिड मिश्रित अकबरे खोर्सानी उत्पादन भएको थियो। तर विगतका अनुभवबाट सिक्दै यस वर्ष भने शुद्ध अकबरे खोर्सानी उत्पादन गर्न सफल भएको समीर बताउँछन् । अहिले उनको बारीभरि अकबरे खोर्सानी लटरम्म फलेको छ र उत्पादनले उत्साह थपेको छ ।

उनका अनुसार यस वर्षको उत्पादन भदौ महिनादेखि टिप्न सुरु गरिने तयारी छ । उत्पादन सन्तोषजनक देखिए पनि बजार व्यवस्थापनप्रति भने उनी चिन्तित छन् । ठूलो परिमाणमा उत्पादन हुने खोर्सानीको उचित बजार सुनिश्चित हुन नसके मेहनतअनुसार प्रतिफल प्राप्त गर्न कठिन हुने उनको भनाइ छ । त्यसैले उत्पादनसँगै बजारको सुनिश्चितता किसानका लागि उत्तिकै महत्वपूर्ण विषय रहेको उनीले औंल्याएका छन् ।

व्यावसायिक कृषि रोजेर गाउँमै सम्भावना खोजिरहेका समीरले अकबरे खोर्सानी आवश्यक पर्ने व्यक्ति तथा व्यापारीलाई आफूसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका छन् । आवश्यक परे ९८६५१९८७८२ नम्बरमा सम्पर्क गर्न सकिने उनले जानकारी दिएका छन् । गाउँमै रहेर आधुनिक र व्यवसायिक कृषि अभ्यासमार्फत आत्मनिर्भर बन्ने उनको प्रयास अहिले स्थानीय स्तरमा प्रेरणादायी उदाहरणका रूपमा हेरिन थालेको छ ।

प्रतिक्रिया