शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुरक्षित संरचना निर्माणमा कमलामाईको जोड

शुक्रवार , आषाढ ५, २०८३

सिन्धुली, ०५ असार  — कमलामाई नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण भइरहेका भौतिक संरचनाहरूलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउन भवन निर्माण कार्यसँग प्रत्यक्ष रूपमा संलग्न निर्माण व्यवसायी र डकर्मी प्राविधिकहरूलाई लक्षित गर्दै शुक्रवार एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा सहभागीहरूलाई राष्ट्रिय भवन संहिता (नेशनल बिल्डिङ कोड–एनबीसी २०५) का प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो । साथै नगरपालिकाले कार्यान्वयनमा ल्याएको भवन तथा बस्ती विकास मापदण्ड, सुरक्षित तथा गुणस्तरीय निर्माणका लागि अवलम्बन गर्नुपर्ने उत्कृष्ट निर्माण अभ्यास (बेस्ट कन्स्ट्रक्सन प्राक्टिसेस) सम्बन्धी विषयमा समेत प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय नगर क्षेत्रमा शहरीकरणको विस्तारसँगै भवन निर्माण गतिविधि तीव्र गतिमा बढ्दै गएको सन्दर्भमा निर्माण कार्यलाई मापदण्डअनुसार व्यवस्थित बनाउन यस्ता कार्यक्रमको आवश्यकता बढेको नगरपालिकाको भनाइ छ । निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा प्राविधिकहरूको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गरी भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिमका क्रममा भवन निर्माण प्रक्रियामा प्राविधिक मापदण्डको पालना अनिवार्य रहेको विषयमा विशेष जोड दिइएको थियो । “सुरक्षित र दिगो संरचना निर्माणका लागि भवन संहिताको पूर्ण पालना आवश्यक छ,” नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार निर्माण कार्यमा निर्धारित प्राविधिक मापदण्डलाई कडाइका साथ लागू गर्न सके प्राकृतिक विपद् तथा अन्य सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ ।

भवन निर्माणको गुणस्तर अभिवृद्धि तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकास तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीय तह स्थापना भएपछि कमलामाई नगरपालिकाले व्यवस्थित शहरी विकासलाई प्राथमिकतामा राख्दै सुरक्षित आवास निर्माण, गुणस्तरीय पूर्वाधार विकास तथा नागरिकमा निर्माणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाले भवन निर्माणसम्बन्धी कानुनी तथा प्राविधिक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुरक्षित बस्ती विकासको लक्ष्य हासिल गर्न सरोकारवालाबीच सहकार्यलाई थप सुदृढ बनाउने नीति लिएको जनाएको छ ।

प्रतिक्रिया