शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ग्वाङखोलामा बढ्दो अतिक्रमणप्रति स्थानीय चिन्तितः नियम–कानुनबारे प्रश्न

शुक्रवार , आषाढ ५, २०८३

 

सिन्धुली ,०५ असार — सिन्धुलीको  ग्वाङखोलामा बढ्दो अतिक्रमणका गतिविधिप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । खोलाको प्राकृतिक बहाव क्षेत्र क्रमशः साँघुरिँदै गएको भन्दै उनीहरूले समयमै आवश्यक अध्ययन, अनुगमन र नियन्त्रणका उपाय अवलम्बन नगरे भविष्यमा ठूलो मानवीय तथा भौतिक क्षति निम्तिन सक्ने चेतावनी दिएका छन् ।

स्थानीयका अनुसार ढुंग्रेवासको दुई नम्बर पुलमाथिको क्षेत्रमा खोलाको दायाँ–बायाँ किनारमा संरचना विस्तार तथा अन्य गतिविधिका कारण खोलाको स्वाभाविक क्षेत्र प्रभावित हुने अवस्था देखिएको छ । यसरी अतिक्रमणको क्रम निरन्तर जारी रहे ग्वाङखोलाले भविष्यमा मेलम्ची क्षेत्रले भोग्नुपरेजस्तै विपद्को स्वरूप लिन सक्ने आशंका व्यक्त गरिएको छ ।

स्थानीय बासिन्दाले खोलाको प्राकृतिक बहावमा अवरोध सिर्जना हुने अवस्था विकसित भए हजारौँ मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार अहिले देखिएको अवस्था सामान्य देखिए पनि दीर्घकालीन रूपमा यसले बाढी, कटान तथा अन्य प्राकृतिक जोखिम बढाउन सक्ने सम्भावना रहेको छ ।


यस विषयमा सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै स्थानीयले तत्काल आवश्यक प्राविधिक अध्ययन गर्न माग गरेका छन् । विशेषगरी ग्वाङखोलाको आधिकारिक नक्साअनुसार खोलाको क्षेत्रफल, सीमारेखा तथा खोलाबाट दायाँ–बायाँ कति दूरीसम्म खुला क्षेत्र कायम गर्नुपर्ने कानुनी व्यवस्था के छ भन्ने विषय स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीयले यस सम्बन्धमा तथ्यमा आधारित जानकारी सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । खोलाको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी विद्यमान नियम, कानुन र मापदण्डबारे सम्बन्धित निकाय तथा विषयविज्ञहरूले स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

उनीहरूका अनुसार यो विषय कुनै व्यक्ति वा समूह विशेषप्रति लक्षित नभई सम्भावित जोखिमबारे समयमै सचेत गराउने उद्देश्यले सार्वजनिक गरिएको हो । प्राकृतिक स्रोतको संरक्षणसँगै भविष्यमा हुन सक्ने मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने अभिप्रायले विषय उठान गरिएको स्थानीयको भनाइ छ ।

स्थानीय समुदायले सबै पक्षलाई सजग र जिम्मेवार बन्न आग्रह गर्दै खोलाजन्य जोखिम व्यवस्थापनमा समयमै पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूका अनुसार पूर्वतयारी, कानुनी व्यवस्था कार्यान्वयन तथा अतिक्रमण नियन्त्रणमा प्रभावकारी कदम चालिए भविष्यमा कुनै पनि प्रकारको मानवीय क्षति हुनबाट जोगिन सकिनेछ ।ह

हाल ढुंग्रेवास दुई नम्बर पुलमाथिको क्षेत्रको अवस्था तस्बिरमार्फत सार्वजनिक गरिएको छ । उक्त क्षेत्रको वास्तविक अवस्था, कानुनी हैसियत तथा सम्भावित जोखिमबारे सम्बन्धित निकायबाट थप अध्ययन र आवश्यक निर्णयको अपेक्षा स्थानीयवासीले गरेका छन् । 

प्रतिक्रिया