सिन्धुली,०५ असार — सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित धुराबजारमा शुक्रबार बिहान आगलागी हुँदा एक काठे घरमा उल्लेख्य क्षति पुगेको छ । विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
स्थानीयवासीका अनुसार बिहान करिब २ बजे स्थानिय शसि श्रेष्ठको पसलभएको काठबाट निर्मित घरमा अचानक आगलागी सुरु भएको थियो । आगोका कारण घरभित्र बिक्रीका लागि राखिएका विभिन्न सामग्री जलेर नष्ट भएका छन् । यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण तथा आर्थिक मूल्यांकन भने अझै सार्वजनिक गरिएको छैन ।
आगलागी सुरु भएपछि स्थानीयले कमलामाई नगरपालिकाको दमकल सेवासँग सम्पर्क गर्ने प्रयास गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार दमकल सेवाको फोन सम्पर्कमा नआए पछि तत्काल आवश्यक प्रतिक्रिया प्राप्त हुन सकेन । त्यसपछि प्रहरी आफैँ नगरपालिकामा पुगेर दमकल ल्याउनुपरेको बताइएको छ ।
स्थानीयवासीले नगरपालिकाको दमकल सेवा समयमै परिचालन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आपत्कालीन अवस्थामा दमकल सेवा प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा आगलागी नियन्त्रणमा ढिलाइ भएको उनीहरूको गुनासो छ ।
घटना भएको घर काठबाट निर्मित हुनुका साथै आसपासका अन्य काठे संरचनासँग पनि जोडिएको अवस्थामा रहेको थियो । आगो छिमेकी घरहरूमा फैलिने उच्च जोखिम रहे पनि सिन्धुली प्रहरीको तत्परता र समन्वयका कारण थप क्षति हुन नपाएको स्थानीयले बताएका छन् । प्रहरीको सुझबुझपूर्ण हस्तक्षेपले आगलागी अन्य घरसम्म फैलिनबाट रोकिएको जनाइएको छ ।
यस घटनापछि जिल्लामा दमकल सेवाको व्यवस्थापन र सञ्चालनबारे पुनः बहस सुरु भएको छ । लामो समयदेखि सिन्धुलीवासीले दमकल सेवा स्थानीय तहको सट्टा सुरक्षा निकायमार्फत सञ्चालन गरिनुपर्ने माग गर्दै आएका छन् । शुक्रबारको घटनाले उक्त मागको औचित्य थप बलियो बनाएको स्थानीयको भनाइ छ ।
आगलागीको कारण, क्षतिको विस्तृत विवरण तथा दमकल सेवा परिचालनमा भएको ढिलाइबारे सम्बन्धित निकायबाट थप अनुसन्धान र मूल्यांकन भइरहेको जनाइएको छ । घटनाले आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापन प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको स्थानीयवासीको टिप्पणी छ ।