शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खोज पत्रकारितादेखि एआईसम्म, सिन्धुलीका पत्रकारलाई सीपमूलक प्रशिक्षण

शुक्रवार , आषाढ ५, २०८३

सिन्धुली, ०५ असार – सिन्धुलीमा पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न विषयगत तालिम सञ्चालन हुने क्रम जारी रहेको छ । खोज पत्रकारिता, फोटो–भिडियो पत्रकारिता तथा मोबाइल पत्रकारितासम्बन्धी प्रशिक्षण सम्पन्न भइसकेको अवस्थामा अब कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विशेष तालिम आयोजना गरिने भएको छ ।

दुधौली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा आज शुक्रवार देखी एआईसम्बन्धी दुईदिने तालिम सञ्चालन गरिने भएको हो । धुराबजारस्थित होटल सिन्धुली इनमा शुक्रवार बिहान १०ः३० बजेदेखि सञ्चालन हुने तालिममा जिल्लाभर कार्यरत क्रियाशील तथा इच्छुक पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

पत्रकारितामा डिजिटल प्रविधिको बढ्दो प्रभाव र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई मध्यनजर गर्दै समाचार संकलन, सामग्री विश्लेषण, तथ्य परीक्षण, डाटा व्यवस्थापन तथा डिजिटल उपकरणहरूको प्रभावकारी उपयोगसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति बाबुराम देवकोटाले पत्रकारिता क्षेत्र तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै समयको मागअनुसार पत्रकारहरूलाई अद्यावधिक ज्ञान र सीप प्रदान गर्न तालिम आयोजना गरिएको बताए । उनका अनुसार कृत्रिम बुद्धिमत्ता अहिले विश्व सञ्चार क्षेत्रकै प्रमुख बहस र अभ्यासको विषय बनेको छ ।

“पत्रकारितामा नयाँ प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा पत्रकारहरूलाई प्रविधिसँग परिचित गराउँदै जिम्मेवार, विश्वसनीय र गुणस्तरीय सामग्री उत्पादनमा सक्षम बनाउनु आवश्यक छ,” सभापति देवकोटाले भने, “एआईले पत्रकारितामा अवसरसँगै चुनौती पनि ल्याएको छ । त्यसको सही प्रयोग, नैतिक पक्ष र व्यावहारिक उपयोगबारे पत्रकारहरूलाई जानकारी गराउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।”

उनले महासंघले पछिल्लो समय पत्रकारहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न विषयगत तालिम सञ्चालन गरिरहेको जानकारी दिए । “पत्रकारिताको गुणस्तर वृद्धि गर्न नियमित रूपमा सीप विकास कार्यक्रम आवश्यक हुन्छ । त्यसैले स्थानीय तहहरूसँगको सहकार्यमा पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिएका छौँ,” उनले भने ।

यसअघि नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको थियो । पत्रकारितामा अनुसन्धानात्मक अभ्यास र दृश्य सामग्री उत्पादनसम्बन्धी सीप विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तालिम दुई चरणमा विभाजन गरिएको थियो ।

तालिमको पहिलो दुई दिन खोज पत्रकारितामा केन्द्रित सत्र सञ्चालन गरिएको थियो भने बाँकी तीन दिन फोटो तथा भिडियो पत्रकारितासम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । सहभागी पत्रकारहरूलाई अनुसन्धानात्मक समाचार लेखन, तथ्य प्रमाणीकरण, स्रोत व्यवस्थापन, फोटो तथा भिडियो सामग्री उत्पादन र सम्पादनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको आयोजकले जनाएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजनामा तथा घ्याङ्लेख गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुलीमाढीमा दुईदिने मोबाइल पत्रकारिता तालिम पनि सञ्चालन गएिको थियते । मोबाइल उपकरणमार्फत समाचार संकलन, सम्पादन तथा प्रकाशनका आधुनिक विधिबारे प्रशिक्षण दिइरहेको उक्त कार्यक्रमले पत्रकारहरूलाई डिजिटल पत्रकारितामा थप सक्षम बनाउने अपेक्षा गरिएको छ ।

सञ्चार क्षेत्रको बदलिँदो आवश्यकता र प्रविधिको तीव्र विकाससँगै सिन्धुलीमा सञ्चालन भइरहेका यस्ता तालिमहरूले स्थानीय पत्रकारहरूको पेशागत दक्षता, डिजिटल क्षमता र गुणस्तरीय पत्रकारिताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया