सिन्धुली,०४ असार— स्वदेशमै रोजगारीका अवसरको खोजीलाई प्राथमिकता दिँदै वैदेशिक रोजगारीमा जानै परे सही सूचना, आवश्यक सीप र कानुनी प्रक्रियाको जानकारीसहित मात्र जानुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कमलामाई नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार कमलामाई नगरपालिकाको सभाहलमा सम्पन्न एकदिने कार्यक्रममा जिल्लास्थित जिल्ला प्रहरी कार्यालय तथा विभिन्न प्रहरी चौकीका इन्चार्जहरूलाई सुरक्षित वैदेशिक रोजगारीका विविध पक्षबारे अभिमुखीकरण प्रदान गरिएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने अभियानमा प्रहरी प्रशासन र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा देखिने ठगी, मानव बेचबिखन तथा गैरकानुनी श्रम आप्रवासनका जोखिम न्यूनीकरणमा प्रहरी प्रशासनको भूमिकाबारे छलफल गरेका थिए । साथै वैदेशिक रोजगारीमा जाने नागरिकलाई समयमै सही सूचना उपलब्ध गराउने, कानुनी प्रक्रिया अवलम्बन गर्न प्रोत्साहन गर्ने तथा आप्रवासी श्रमिकका अधिकार संरक्षणका विषयमा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रमले समुदायस्तरमा वैदेशिक रोजगारीसम्बन्धी सचेतना अभिवृद्धि गर्दै आएको उल्लेख गर्दै वक्ताहरूले रोजगारका लागि विदेश जाने नागरिकलाई आवश्यक सीप, जानकारी र कानुनी प्रक्रियाको पहुँच सुनिश्चित गर्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।
कार्यक्रमले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौतीहरूको पहिचान गर्दै समाधानका लागि साझा समझदारी निर्माण गर्नुका साथै स्थानीय तह र सुरक्षा निकायबीचको कार्यगत सम्बन्धलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता निमा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह तथा प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो । त्यसैगरी सामाजिक विकास शाखाका प्रमुख, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक, कार्यक्रमका कर्मचारी तथा अन्य सरोकारवाला पक्षहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।