सिन्धुली, ०२ असार — सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित कृपा होटल अगाडिको बिपी राजमार्ग खण्डमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अपराह्न करिब साढे तीन बजे माझिटारबाट ढुंग्रेबासतर्फ जाँदै गरेको ज.१ त.९०३७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ६९२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका–१२ निवासी ३० वर्षीय मनिष माझी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । तर उपचारकै क्रममा अपराह्न ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर कमलामाई नगरपालिका–५ मधुटार निवासी ४२ वर्षीय लोकबहादुर श्रेष्ठले चलाएका थिए । दुर्घटनापछि ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा पछिल्ला वर्षहरूमा सवारी चाप बढेसँगै दुर्घटनाका घटनासमेत दोहोरिन थालेका छन्। विशेषगरी तीव्र गति, जोखिमपूर्ण ओभरटेक र सडक सुरक्षाप्रति लापरवाहीका कारण यस्ता दुर्घटना हुने गरेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।