सिन्धुली,०१ असार— कमलामाई नगरपालिका वडा नं. २ का चार बस्तीलाई ‘सफा र स्वच्छ घर तथा समुदाय’ घोषणा गरिएको छ । “स्वच्छ व्यवहार इज्जत र सम्मान, पूर्ण सरसफाइ हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा बुक्ती खट्टार, छत्तिवनटार, भोटेश्वारा र पिपलभञ्ज्याङ बस्तीलाई औपचारिक रूपमा उक्त घोषणा गरिएको हो ।
वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (भिवाससिसी), कमलामाई नगरपालिका वडा नं. २ को आयोजनामा तथा ह्याण्ड्स नेपाल र प्लान इन्टरनेसनलको सहकार्यमा सोमबार घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले दिगो विकासका लक्ष्य (एसडीजीज) प्राप्ति र समृद्ध कमलामाई निर्माणका लागि स्थानीय सरकार मात्र नभई नागरिकको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए । उनले “समृद्ध कमलामाईको लक्ष्य र दिगो विकासका सूचकहरू पूरा गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ,” भन्दै आगामी दिनमा यस्ता सकारात्मक अभ्यास र घोषणालाई नीतिगत रूपमा थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सहकार्यकर्ता संस्था ह्याण्ड्स नेपालका अध्यक्ष वासुदेव अधिकारीले स्थानीय तहसँग सहकार्य गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । उनले समुदायको जीवनस्तर उकास्ने तथा वातावरण संरक्षणमा टेवा पुग्ने यस्ता अभियानमा संस्थाको सहयोग आगामी दिनमा पनि निरन्तर रहने बताए ।
कार्यक्रमका सभापति तथा वडा नं. २ का वडा अध्यक्षले वडालाई नमुना र पूर्ण सरसफायुक्त बनाउने दीर्घकालीन अभियानमा चार बस्तीको घोषणा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । “आज हाम्रा चारवटा बस्तीहरू सफा र स्वच्छ घोषित हुनु सम्पूर्ण वडावासीका लागि गौरवको विषय हो,” उनले भने, “यो घोषणा केवल कागजमा सीमित रहने छैन । यसको दिगोपनाका लागि वडा कार्यालयले नियमित अनुगमनलाई तीव्रता दिनेछ ।”
उनले वडाभित्रका अन्य बस्तीलाई समेत क्रमशः अभियानमा समेट्दै निकट भविष्यमा सम्पूर्ण वडा नै पूर्ण सरसफायुक्त तथा स्वच्छ वडा घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए । साथै अभियान सफल बनाउन योगदान पु¥याउने स्थानीय बासिन्दा र सहयोगी संस्थाप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले आफ्ना घर, टोल तथा समुदायलाई सधैँ सफा, स्वच्छ र पूर्ण सरसफायुक्त राख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । सरसफाइ तथा स्वच्छता प्रवद्र्धनलाई संस्थागत गर्दै समुदायस्तरमा व्यवहार परिवर्तनलाई स्थायी बनाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
वडा सचिवद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, आमा समूह तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।