शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फिक्कल अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिका घोषित

सोमवार , आषाढ १, २०८३

सिन्धुली,०१ असार – फिक्कल गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार विद्यालय उमेर समूहका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको आधारमा आइतबार विशेष कार्यक्रम आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिका घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र संविधानसभा सदस्य गणेश कुमार पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा नागरिक समाजका अगुवाको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौँडाका महानिर्देशक गोपाल प्रसाद कडेल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिनेश देवकोटा, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनले स्थानीय तहमा शैक्षिक पहुँच विस्तार, विद्यालय बाहिर रहेका बालबालिकाको संख्या न्यूनीकरण तथा गुणस्तरीय शिक्षाको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनीहरूले संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकार, शैक्षिक संस्था, अभिभावक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा पनि राखेका थिए । गाउँपालिकाले विद्यालय उमेरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

फिक्कल गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिका घोषणा गरिनु स्थानीय तहमा शिक्षा क्षेत्रको उपलब्धिका रूपमा हेरिएको छ । यस घोषणासँगै गाउँपालिकाले शैक्षिक अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्दै सबै बालबालिकालाई विद्यालय शिक्षाको दायराभित्र समेट्ने लक्ष्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया