सिन्धुली,३१ जेठ — कमलामाई नगरपालिकामा स्थानीय तहको आन्तरिक राजश्व व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘राजश्व व्यवस्थापन सुत्र प्रणाली’ सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
तालिमको अन्तिम दिन आइतवार आयोजित समापन कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आन्तरिक राजश्व सुदृढीकरण स्थानीय सरकारको आर्थिक आत्मनिर्भरतासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै आधुनिक प्रविधिको अधिकतम उपयोगमार्फत राजश्व प्रशासनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले राजश्व व्यवस्थापन प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता अभिवृद्धिका लागि सुत्र प्रणाली महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे ।
समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले तालिममा सहभागी कर्मचारी तथा सरोकारवालालाई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै पालिकाको आन्तरिक राजश्व व्यवस्थापनलाई थप व्यवस्थित, चुस्त र परिणाममुखी बनाउन सफलताको शुभकामना व्यक्त गरे । उनले प्रविधिमा आधारित राजश्व व्यवस्थापन प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै आर्थिक अनुशासन कायम गर्न समेत महत्वपूर्ण योगदान पु¥याउने बताए ।
शनिवार सुरुभई दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई राजश्व व्यवस्थापन सुत्र प्रणालीको प्रयोग सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो । तालिम अवधिभर प्रणाली सञ्चालन, तथ्याङ्क प्रविष्टि, राजश्व अभिलेखीकरण तथा व्यवस्थापनका विविध पक्षबारे व्यवहारिक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ ।
तालिमका क्रममा सहभागीहरूले सुत्र प्रणालीमार्फत राजश्व व्यवस्थापन प्रक्रियालाई कसरी सरल, व्यवस्थित र पारदर्शी बनाउन सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अभ्यास गरेका थिए। यसबाट स्थानीय तहको आन्तरिक राजश्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा कार्यसम्पादन क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रयोगात्मक सिकाइलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तालिम सहभागीहरूको सक्रिय सहभागितासँगै सम्पन्न भएको हो। कार्यक्रमको समापनसँगै सुत्र प्रणालीको प्रभावकारी कार्यान्वयनमार्फत पालिकाको आन्तरिक राजश्व व्यवस्थापनलाई थप सुदृढ र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ ।