सिन्धुली,३१ जेठ — स्थानीय पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुलीमाढीमा दुईदिने मोबाइल पत्रकारिता (एमओजो) तालिम आइतबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमलाई घ्याङलेख गाउँपालिका हायुटारले आर्थिक सहयोग गरेको छ ।
डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मोबाइल उपकरणको प्रयोग बढिरहेका बेला सञ्चारकर्मीलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको महासंघले जनाएको छ । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध सक्रिय पत्रकारहरूको सहभागिता रहेको छ ।
तालिम उदघाटन समारोहलाई सम्बोधन गर्दै घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले पत्रकारहरूको क्षमता विकास तथा पेशागत सबलीकरण स्थानीय सरकारको प्राथमिकतामध्ये एक रहेको बताए । उनले आगामी दिनमा पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्षले स्थानीय तहका गतिविधि, विकास निर्माणका काम तथा जनताका आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यमसम्म पु¥याउन दक्ष पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । यस्ता तालिमले पत्रकारहरूलाई नयाँ प्रविधिसँग जोड्दै समाचार सम्प्रेषणलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने उनको विश्वास थियो ।
दुईदिने प्रशिक्षण कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा प्रशिक्षक विकास कार्कीले गरिरहेका छन् । तालिम अवधिभर सहभागी पत्रकारलाई मोबाइल उपकरणकै प्रयोगमार्फत गुणस्तरीय समाचार संकलन, भिडियो छायांकन, सम्पादन तथा द्रुत गतिमा समाचार उत्पादन र प्रसारण गर्ने सीप प्रदान गरिने जनाइएको छ । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिइएको छ ।
‘सत्यको खोजी र समाजको सेवा’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिमले जिल्लाको पत्रकारितालाई प्रविधिमैत्री, प्रतिस्पर्धी र प्रभावकारी बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ । सञ्चार क्षेत्रमा बढ्दो डिजिटल रूपान्तरणलाई आत्मसात् गर्दै स्थानीय पत्रकारहरूको दक्षता अभिवृद्धि गर्न स्थानीय सरकार र नेपाल पत्रकार महासंघबीचको सहकार्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ ।
आयोजकका अनुसार तालिमले पत्रकारहरूलाई मोबाइल प्रविधिको अधिकतम उपयोग गर्दै समाचार उत्पादन र सम्प्रेषणमा दक्ष बनाउनेछ । यसबाट जिल्लाको सञ्चार क्षेत्र थप सबल, उत्तरदायी र समयसापेक्ष बन्ने विश्वास गरिएको छ ।