शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

असल नागरिक निर्माण शिक्षाको मुख्य लक्ष्य हुनुपर्छ  :भण्डारी

शनिवार , जेठ ३०, २०८३


सिन्धुली, ३० जेठ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान समयको शिक्षाको मूल उद्देश्य असल, जिम्मेवार र सक्षम नागरिक निर्माण हुनुपर्ने बताएकी छन् । उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य आधार भएको उल्लेख गर्दै आधुनिक शैक्षिक वातावरण निर्माणमा राज्य तथा समुदायको निरन्तर लगानी आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित गौमती माध्यमिक विद्यालयका नवनिर्मित सुविधा सम्पन्न भवनहरूको शनिबार उदघाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा आधुनिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । “भौतिक पूर्वाधारको विकास शैक्षिक सुधारको बलियो जग हो । यो आधुनिक र सुविधासम्पन्न भवनले विद्यार्थीहरूलाई प्रविधियुक्त र व्यावहारिक शिक्षा आर्जन गर्न थप उत्प्रेरित गर्नेछ । गौमती माध्यमिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षाको क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै देशकै नमुना विद्यालयका रूपमा आफूलाई स्थापित गर्न सकोस्,” उनले भनिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भण्डारीले शिक्षा आर्जनका लागि सक्षम र सुरक्षित भौतिक संरचना अपरिहार्य हुने बताइन् । विशेषगरी २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानअन्तर्गत देशका विभिन्न स्थानमा आधुनिक तथा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको उल्लेख गर्दै उनले त्यस्ता संरचनाले सिकाइको वातावरण सुधार्न महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।

उनले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक तथा समुदायको साझा प्रयास आवश्यक रहेको धारणा राखिन् ।
उदघाटन समारोहपछि पूर्वराष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्माण गरिएका भवनहरूको अवलोकन गरेकी थिइन् । सो अवसरमा विद्यालय भवन निर्माण तथा पूर्वाधार विकासमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ । स्थानीय समुदायले समेत विद्यालयको भौतिक तथा शैक्षिक विकासले क्षेत्रकै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया