सिन्धुली,३० जेठ — ऐतिहासिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको विस्तार तथा स्वस्थ जीवनशैलीप्रति नागरिकलाई प्रेरित गर्ने उद्देश्यले सिन्धुलीमा आयोजित ‘चियाबारी–सिन्धुलीगढी पदयात्रा २०८३’ सम्पन्न भएको छ । “स्वास्थ्यको लागि यात्रा, इतिहासको नाता” भन्ने मूल नारासहित सम्पन्न पदयात्राले इतिहास, पर्यटन र स्वास्थ्य सचेतनालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको आयोजकले जनाएको छ ।
नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टरको आयोजनामा तथा श्री नं. ९ वाहिनी अड्डाको संयोजनमा सञ्चालन गरिएको कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख सहकार्य र समन्वयको भूमिका निर्वाह गरेको थियो । निजी क्षेत्रको सहभागितासमेत उल्लेखनीय रहेको उक्त कार्यक्रममा टोयोटा, गणपति होटल एण्ड रिसोर्ट तथा सानिमा माई हाइड्रोपावर लिमिटेडले प्रायोजन गरेका थिए ।
कमलामाई नगरपालिका–२ अन्तर्गतको पर्यटकीय गन्तव्य चियाबारीबाट सुरु भएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढी पुगेर समापन गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उद्योगी–व्यवसायी, नागरिक समाजका प्रतिनिधि, खेलकुदप्रेमी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपालको एकीकरण अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको सिन्धुलीगढी नेपाली इतिहासको गौरवपूर्ण स्थलका रूपमा परिचित छ। वि.सं. १८२४ मा आधुनिक हतियारले सुसज्जित ब्रिटिस इष्ट इन्डिया कम्पनीका क्याप्टेन किनलक नेतृत्वको सेनालाई गोर्खाली फौजले यही भूभागमा पराजित गरेको इतिहास छ । राष्ट्रको स्वाधीनता र वीरताको प्रतीक मानिने उक्त घटनाको स्मरण गर्दै नयाँ पुस्तालाई सिन्धुलीगढीको ऐतिहासिक महत्वबारे जानकारी गराउने उद्देश्यले पदयात्रा आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रमका क्रममा स्थानीय सरोकारवालाहरूले यस्ता गतिविधिले नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनीहरूले सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको प्रवद्र्धन तथा यस क्षेत्रको पर्यटन विकासमा समेत यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे ।
पदयात्रामा सहभागीहरूले नियमित हिँड्ने संस्कृतिको विकाससँगै आफ्नो ऐतिहासिक विरासतसँग प्रत्यक्ष रूपमा जोडिन पाउनु विशेष अनुभव भएको प्रतिक्रिया दिएका थिए । स्वास्थ्य प्रवद्र्धन, इतिहासप्रतिको सम्मान र पर्यटन विकासलाई एकसाथ अघि बढाउने उद्देश्यसहित सम्पन्न पदयात्राले सिन्धुलीको ऐतिहासिक पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ छ ।