काभ्रेपलाञ्चोक,३० जेठ — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्ग खण्डमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको कारण र जिम्मेवार पक्ष पहिचान गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । दुर्घटनामा आठ जनाको ज्यान गएको तथा १६ जना घाइते भएका छन् ।
घटनापछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय, पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेका हुन् । समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण र सम्भावित जिम्मेवार पक्षबारे सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रहरीले जनाएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारतका प्रहरी हबल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटी सदस्य रहेका छन् । शिवाकोटी समितिका सदस्य सचिव तोकिएका छन् ।
यसैबीच दुर्घटनामा ज्यान गुमाउने आठै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार रोशी गाउँपालिका–६ निवासी करिब ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङको मृत्यु भएको छ । मृतक इन्द्रबहादुर उक्त बसका साहु समेत रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ र ६० वर्षीया माया लामा तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । यस्तै दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ निवासी २२ वर्षीया सुमी लामाको समेत घटनामा मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । साथै मृतकका परिवारजनसँग सम्पर्क स्थापित गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ । छानबिन समितिको प्रतिवेदनपछि दुर्घटनाको वास्तविक कारण र जिम्मेवारीबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।