शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा रक्तदातालाई सम्मान

शनिवार , जेठ ३०, २०८३


सिन्धुली,३० जेठ — विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा, कमलामाई नगरपालिका–४ ढुंग्रेवासले विभिन्न समयमा रक्तदान गरेका व्यक्तिहरूलाई सम्मान गरेको छ । मानवीय सेवामा योगदान पुर्‍याउने रक्तदाताको कदर गर्दै अरूलाई पनि रक्तदानप्रति प्रेरित गर्ने उद्देश्यले शनिवार आयोजित कार्यक्रममा १४ जना रक्तदातालाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पूर्वसभापति अमरदीप देवकोटाले प्रमाणपत्र वितरण गरे । सम्मान कार्यक्रममा बोल्दै उनले मानव सेवाका क्षेत्रमा जुनियर रेडक्रस समिति तथा उपशाखाहरू रेडक्रस अभियानका महत्वपूर्ण आधारस्तम्भ रहेको बताए । समाजमा मानवीय मूल्य र सेवाभाव विस्तार गर्न यस्ता गतिविधिले सकारात्मक भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाका सभापति सन्तोषकुमार बोहोराले रक्तदानलाई जीवनदानकै रूपमा लिइने उल्लेख गर्दै रक्तदाताको योगदानको सम्मान गर्न तथा समुदायमा रक्तदान संस्कृतिलाई थप विस्तार गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । “रक्तदान गरी अतुलनीय मानवीय सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्न र अन्यलाई पनि यस अभियानमा सहभागी हुन प्रेरित गर्न कार्यक्रम गरिएको हो,” उनले भने ।

सो अवसरमा उपशाखाले प्रमुख अतिथि देवकोटालाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो । कार्यक्रममा आजीवन सदस्य सम्भु प्रसाद गजुरेल, कार्यसमिति सदस्य कृष्ण प्रसाद बराल तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका कोषाध्यक्ष पुरुषोत्तम अधिकारीले रक्तदाताको योगदान समाजका लागि सधैं उच्च र सम्मानयोग्य रहने धारणा व्यक्त गरे । उनीहरूले रगत अभावका कारण ज्यान जोखिममा परेका बिरामीको जीवन बचाउन स्वेच्छिक रक्तदानको भूमिका महत्वपूर्ण हुने बताए ।

हरेक वर्ष जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । मानव रगतका समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको सम्झनामा यो दिवस मनाउने परम्परा रहेको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउने, स्वेच्छिक रक्तदातालाई सम्मान गर्ने तथा सुरक्षित र पर्याप्त रगत उपलब्ध गराउने उद्देश्यले दिवस मनाइने गरिन्छ ।

सिद्धबाबा उपशाखाले हालसम्म विभिन्न समयमा पाँच पटक रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ । रक्तदानका अतिरिक्त सडक सरसफाइलगायत सामुदायिक हितका विभिन्न सामाजिक गतिविधिहरू पनि निरन्तर सञ्चालन गर्दै आएको उपशाखाको भनाइ छ ।

प्रतिक्रिया