सिन्धुली,३० जेठ — पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सिन्धुलीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा तथा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम शुक्रबार समापन गरिएको हो ।
पत्रकारितामा अनुसन्धानात्मक अभ्यास र दृश्य सामग्री उत्पादनसम्बन्धी सीप विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको तालिम दुई चरणमा विभाजन गरिएको थियो । पहिलो दुई दिन खोज पत्रकारितामा केन्द्रित सत्र सञ्चालन गरिएको थियो भने बाँकी तीन दिन फोटो तथा भिडियो पत्रकारितासम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
खोज पत्रकारितासम्बन्धी सत्रमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिताका अभ्यासकर्ता शिव गाउँलेले सहजीकरण गर्नुभएको थियो । उहाँले खोज पत्रकारिताको आधारभूत अवधारणा, समाचारका लागि विषयवस्तु छनोट गर्ने विधि, सूचनाको परीक्षण र प्रमाणीकरण, प्रमाण संकलनका प्रक्रिया तथा अनुसन्धानात्मक समाचार निर्माणका विभिन्न चरणबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, फोटो तथा भिडियो पत्रकारितासम्बन्धी प्रशिक्षण राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त र केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । प्रशिक्षणका क्रममा क्यामराका विभिन्न मोडहरूको प्रयोग, फ्रेमिङ र कम्पोजिसनका आधारभूत सिद्धान्त, फोटो तथा भिडियो खिच्दा अपनाउनुपर्ने उपयुक्त कोण तथा दृश्य प्रस्तुतिका प्रभावकारी विधिबारे सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।
समापन कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि गाउँपालिकाले आगामी दिनमा पनि सञ्चारकर्मी तथा मिडिया संस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रवद्र्धन र विकासका लागि आवश्यक कार्यक्रम समावेश गरिने जानकारी पनि दिनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जिल्लाका पत्रकारहरूको क्षमता विकासका लागि हरिहरपुरगढी गाउँपालिकाले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गत सोमबार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले उदघाटन गर्नुभएको उक्त तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । आयोजकका अनुसार तालिमले खोजमूलक पत्रकारिता र दृश्य सामग्री उत्पादनमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।