सिन्धुली, २९ जेठ — सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्टमा प्रहरीले सञ्चालन गरेको सघन सवारी जाँचका क्रममा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीन छुट्टाछुट्टै घटनामा विभिन्न सवारी साधनबाट लागूऔषध बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म वि.पी. राजमार्गअन्तर्गत भिमान चेकपोष्ट क्षेत्रमा सवारी साधनहरूको निगरानी तथा जाँच अभियान सञ्चालन गरेको थियो । प्रहरी निरीक्षक राजु के.सी. खत्रीको नेतृत्वमा खटिएको टोलीले सो अवधिमा तीन फरक सवारी साधनबाट लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–०१७७ ख ०१ नम्बरको हायसमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४ निवासी २९ वर्षीय रुपेश ठाकुरको शरीर खानतलासी गर्दा उनले लगाएको कालो पाइन्टको पछाडिको दायाँ गोजीमा सेतो प्लास्टिकभित्र लुकाइराखिएको ३१ ग्राम २९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो । उक्त घटनामा सोही स्थानका ३० वर्षीय सुरज राजधामीलाई समेत नियन्त्रणमा लिइएको छ । थप जाँचका क्रममा राजधामीले बोकेको कालो झोलाबाट एक लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प.००९–०२ प्र.नं. ०९८४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा पछाडि सवार धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ निवासी १७ वर्षीय मनिष यादवले बोकेको कालो झोलाभित्र रहेको सेतो पाइन्टको अगाडिको दायाँ गोजीमा क्याप्टेन चुरोटको बट्टाभित्र पहेँलो प्लास्टिकमा प्याक गरिएको ५६० ग्राम खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल चालक महोत्तरीको सोनमा गाउँपालिका–२ निवासी २२ वर्षीय रवि यादव र मनिष यादव दुवैलाई नियन्त्रणमा लिइएको छ ।
यस्तै झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख २४९० नम्बरको हायसका चालक उदयपुरको त्रियुगा नगरपालिका निवासी मोहन बुढाथोकीमाथि शंका लागेपछि गरिएको खानतलासीका क्रममा उनले लगाएको निलो पाइन्टको अगाडिको गोजीमा रहेको पाइलट चुरोटको बट्टाभित्र निलो प्लास्टिक र कागजमा बेरेर राखिएको १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । सो घटनामा चालकसहित हायसलाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार पक्राउ परेका सबै व्यक्तिलाई इलाका प्रहरी कार्यालय भिमानमा राखी लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।