शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बीपी राजमार्ग बुच्चाकोट सेल्फी डाँडामा यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

शुक्रवार , जेठ २९, २०८३

काभ्रेपलाञ्चोक, २९ जेठ — बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोट क्षेत्रमा भएको यात्रुवाहक बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ भने सुरक्षाकर्मी तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन् ।

काभ्रे प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ गइरहेको बा३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोट क्षेत्रमा यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था तथा मृतकहरूको पहिचानबारे विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको सेल्फी डाँडा क्षेत्र नजिकै भएको उक्त दुर्घटनापछि स्थानीयवासी, प्रहरी र अन्य सुरक्षा निकायका टोली उद्धार तथा व्यवस्थापनमा खटिएका थिए । दुर्घटनाको प्रकृति, सम्भावित कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताएका छन् । प्रहरीले घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया