सिन्धुली,२९ जेठ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा पानी प्रवाह सुरु भएपछि सम्भावित कटान तथा बाढीजन्य जोखिम न्यूनीकरणका लागि मरिण नदीका दुवै किनारमा तटबन्ध निर्माण कार्य अघि बढाइएको छ । आयोजनाले नदीको बहावका कारण खेतीयोग्य जमिन र मानव बस्तीमा पुग्न सक्ने क्षतिलाई मध्यनजर गर्दै संरक्षणात्मक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
सुनकोशी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्गमार्फत मरिण खोलामा खसालिने व्यवस्थासँगै खोलामा जलप्रवाहको मात्रा उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । यही अवस्थालाई ध्यानमा राख्दै मरिण खोलाको दुवै तर्फ रहेका उर्वर कृषि भूमि तथा आसपासका बस्तीलाई सुरक्षित राख्न तटबन्ध निर्माण थालिएको हो ।
आयोजनाका अनुसार चालु आर्थिक वर्षभित्र मरिण खोलाको दुवै किनारमा करिब १० किलोमिटर लम्बाइमा तटबन्ध निर्माण गरिनेछ। यसका लागि ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माणाधीन तटबन्धले नदीजन्य कटान नियन्त्रण गर्नुका साथै दीर्घकालीन रूपमा कृषि उत्पादन र स्थानीय बस्तीको सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
तटबन्ध निर्माणसँगै नदी किनार क्षेत्रमा सडक पूर्वाधारसमेत निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दाको दैनिक आवतजावतलाई सहज बनाउने विश्वास गरिएको छ । सडक र तटबन्धको संयुक्त निर्माणले एकातर्फ स्थानीय यातायात पहुँचमा सुधार ल्याउनेछ भने अर्कोतर्फ नदी कटानबाट हुने क्षति न्यूनीकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
मरिण क्षेत्रका बासिन्दाले वर्षौंदेखि नदी कटानका कारण कृषि जमिन गुमाउने तथा बस्ती जोखिममा पर्ने समस्या भोग्दै आएका छन् । सुनकोशी–मरिण डाइभर्सन आयोजना सञ्चालनपश्चात् नदीमा थप जलप्रवाह हुने भएकाले संरक्षणका उपायहरूलाई थप प्रभावकारी बनाउने आवश्यकता देखिएको थियो । सोही आवश्यकता अनुसार तटबन्ध निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
आयोजनाअन्तर्गत निर्माण भइरहेको तटबन्ध र सडक पूर्वाधारले मरिण खोलाको दुवै किनारमा रहेको खेतीयोग्य जमिन संरक्षण गर्नुका साथै स्थानीय समुदायको जीवनयापनलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ । दीर्घकालीन रूपमा यसले कृषि उत्पादनको संरक्षण, भौतिक संरचनाको सुरक्षा तथा क्षेत्रीय विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।