विद्या भण्डारी आज सिन्धुली आउने, एमाले वृत्तमा बढ्यो राजनीतिक चासो
सिन्धुली,— नेकपा (एमाले) भित्र भावी नेतृत्वका सम्भावित पात्रका रूपमा चर्चामा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिवार सिन्धुली आउने कार्यक्रम तय भएको छ । पार्टीभित्र संगठनात्मक बहस र नेतृत्वसम्बन्धी छलफल चलिरहेका बेला उनको सिन्धुली भ्रमणलाई एमाले वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
यद्यपि भण्डारीको यो भ्रमण प्रत्यक्ष रूपमा पार्टीगत कार्यक्रमसँग सम्बन्धित भने छैन । माढीबजारस्थित गौमती माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटनका लागि उनी प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेकी हुन् । विद्यालय प्रशासनले उक्त कार्यक्रमको पुष्टि गरेको छ ।
पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरण र आगामी महाधिवेशनका सन्दर्भमा भण्डारीको नाम चर्चामा छ । उनले नेपाल सरकारले पूर्व राष्ट्रपतिलाई उपलब्ध गराउँदै आएका सबै सुविधा त्याग्दै पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमालेभित्र उनको भूमिकालाई लिएर बहस तीव्र बनेको हो ।
यसअघि अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि भने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदको सम्भावित दाबेदारका रूपमा उनको चर्चा बढेपछि पार्टी सदस्यता स्थगन गरिएको थियो । अहिले भने अध्यक्ष ओलीकै प्रस्तावमा सचिवालय बैठकबाट सदस्यता पुनः सक्रिय बनाइएको थियो ।
एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको सम्भावनाबारे चर्चा चलिरहेका बेला विभिन्न कम्युनिष्ट घटकको साझा नेतृत्व भण्डारीले गर्न सक्ने विषय आन्तरिक रूपमा उठ्न थालेको बताइन्छ । यही पृष्ठभूमिमा उनको सिन्धुली आगमनलाई राजनीतिक दृष्टिले समेत अर्थपूर्ण रूपमा विश्लेषण गर्न थालिएको छ ।
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पूर्व राष्ट्रपति भण्डारीको सिन्धुली भ्रमण निश्चित भइसकेको जानकारी दिए । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका घिसिङका अनुसार विद्यालय भवन उदघाटनको कार्यक्रम यसअघि नै तय गरिएको भए पनि ‘जेनजी विद्रोह’ अघि सम्पन्न हुन सकेको थिएन ।
“जेनजी विद्रोह अगाडिनै विद्यालय भवन उदघाटन गर्ने कार्यक्रम थियो, गर्न सकिएन, अब सहज भएको छ, त्यसैले उहाँलाईनै ल्याउने निर्णय गरेका हौं,” घिसिङले बताए ।
सिन्धुली एमाले लामो समयदेखि आन्तरिक रूपमा दुई समूहमा विभाजित रहेको मानिन्छ । जिल्ला अधिवेशनदेखि ११औँ राष्ट्रिय महाधिवेशनसम्म देखिएको गुटगत असन्तुष्टि अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । यस्तो अवस्थामा भण्डारीले जिल्लामा एमाले नेता–कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार ‘जेनजी विद्रोह’पछि प्रतिरक्षात्मक अवस्थामा पुगेको भनिएको एमालेका लागि भण्डारीको सक्रियता र उनको सिन्धुली भ्रमणले कार्यकर्तामा नयाँ ऊर्जा थप्न सक्ने अपेक्षा गरिएको छ ।
यसैबीच एमाले बागमती प्रदेशको नेतृत्व पुनर्गठन गर्ने वा नगर्ने विषयमा सुझाव संकलन गर्न प्रदेशस्तरीय भेला भोलि काठमाडौंको कोटेश्वरमा आयोजना हुँदैछ । प्रदेश नेतृत्वको भावी स्वरूपबारे छलफल चलिरहेका बेला पूर्व राष्ट्रपति भण्डारीको सिन्धुली भ्रमणले एमालेभित्रको राजनीतिक बहसलाई थप रोचक बनाएको छ ।
सिन्धुली,२९ जेठ – सिन्धुली सदरमुकामस्थित बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर बन्दै गएको भन्दै स्थानीयवासी तथा सर्वसाधारणले सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बजारका मुख्य सडक तथा व्यापारिक केन्द्रहरूमा जथाभावी सवारीसाधन पार्किङ गरिने क्रम बढ्दै जाँदा दैनिक आवागमन प्रभावित हुन थालेको स्थानीयको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले बजार क्षेत्रको चाप व्यवस्थापन गर्न पालैपालो पार्किङ प्रणाली लागू गर्ने निर्णय गरेको भए पनि उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप स्थानीयले लगाएका छन् । निर्णय गरिए पनि त्यसको अनुगमन र कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित सुधार नदेखिएको उनीहरूको भनाइ छ ।
बजारका प्रमुख सडक, चोक तथा व्यस्त व्यापारिक क्षेत्रहरूमा नियमविपरीत सवारी पार्किङ गरिँदा सवारी सञ्चालनमा अवरोध उत्पन्न हुने गरेको छ । सडक किनार तथा भीडभाड हुने स्थानहरूमा अव्यवस्थित पार्किङका कारण पैदल यात्रु, व्यवसायी र विभिन्न सेवा लिन आउने सेवाग्राही समेत समस्यामा पर्ने गरेका छन् । यसले बजार क्षेत्रको समग्र व्यवस्थापनमा चुनौती थपिएको सरोकारवालाहरूको बुझाइ छ ।
स्थानीयवासीका अनुसार ट्राफिक नियमको पालनाप्रति नागरिकस्तरमा देखिएको उदासीनताले समस्या झन् जटिल बन्दै गएको छ । स्थानीय मोहोन प्रसाद घिमिरेले भने, “जहाँ पायो त्यहीँ मोटरसाइकल र गाडी पार्क गर्ने प्रवृत्ति बढेको छ, कसैले नियम मान्न खोजेको देखिँदै न ।” उनका अनुसार नियमको पालना गर्ने संस्कार कमजोर बन्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
सिन्धुलीमा यसअघि पनि ट्राफिक व्यवस्थापन, सवारीसाधनको गति नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी विभिन्न समस्या र चुनौतीहरू देखिँदै आएका छन् । ट्राफिक प्रहरीले समय–समयमा नियम कार्यान्वयनका लागि पहल गरे पनि प्रभावकारी अनुगमन र आवश्यक कडाइको अभाव रहेको सरोकारवालाहरूको धारणा छ ।
स्थानीयवासीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, कमलामाई नगरपालिका तथा सम्बन्धित निकायलाई बजार क्षेत्रको पार्किङ व्यवस्थापन व्यवस्थित बनाउन तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उनीहरूका अनुसार नियम निर्माण गर्नु मात्र पर्याप्त नहुने भएकाले त्यसको कठोर कार्यान्वयन, नियमित अनुगमन तथा नागरिकस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
स्थानीयको भनाइमा बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने उद्देश्य पूरा गर्न सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य छ । अन्यथा अव्यवस्थित पार्किङ, कमजोर ट्राफिक अनुशासन र बढ्दो भीडभाडका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अझ बढ्न सक्ने उनीहरूको चिन्ता छ ।
बजारको वर्तमान अवस्थाप्रति सर्वसाधारणको चासो बढिरहेका बेला सम्बन्धित निकायले समयमै आवश्यक सुधारात्मक कदम चाल्ने वा नचाल्ने भन्ने विषय अहिले स्थानीय समुदायको प्रमुख सरोकारको विषय बनेको छ ।