काठमाडौं ,२६ जेठ - पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसहित उनका परिवारका केही सदस्यहरूमाथि सुरक्षा निकायले निगरानी बढाएको छ । चीन भ्रमणका लागि भिसा लिएपछि उनीहरुको बारेमा प्रहरीले निगरानी बढाएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पछिल्ला दिनमा गंगासहित नारायणविक्रम प्रधानपट्टिकी छोरी स्मिता, जीवन आचार्य तथा उनीहरूसँग निकट रहेका केही विवादास्पद व्यापारीहरू समेतले चीन जाने भिसा लिएको सूचना प्राप्त भएपछि उनीहरूको गतिविधिमाथि सुरक्षा निकायले निगरानी बढाएको स्रोतको दाबी छ ।
सिन्धुलीको मरिण क्षेत्रमा भैँसीको मासु प्रशोधन परियोजनामा गंगासँग नाम जोडिँदै आएका अमर यादव पनि उक्त निगरानीको सूचीमा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार स्मिताले केही समयअघि कम्पनी दर्ता गरी चीनमा आवासीय सम्पत्ति खरिद गरेको विषय समेत प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी गरिएको छ । चीनमा विदेशी नागरिकलाई व्यक्तिगत नाममा घर किन्न पाउने कानुनी व्यवस्था छैन ।
यसैबीच, गंगा दाहालको नाम भएको सम्पत्तिमा जेनजी आन्दोलनका क्रममा भएको आर्थिक क्षतिसँग जोडिएको विषयमा पनि अहिले चर्चामा छ । स्रोतका अनुसार आन्दोलनका क्रममा उनको निवासमा आगलागी हुँदा ५० करोडभन्दा माथि रकम नगद नष्ट भएको अनुमान गरिएको छ ।
उक्त ५० करोडभन्दा माथिको नगदको स्रोतको बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रारम्भिक अनुसन्धान चलिरहेको समयमा प्रचण्ड परिवारका सदस्यहरूको विदेश यात्रा, विभिन्न ठाउँमा सम्पत्ति लगानी र केही व्यक्तिहरुसँगको व्यावसायिक सम्बन्धहरूबारे विभिन्न कोणबाट छानबिन भइरहेको स्रोतहरूको भनाइ छ । प्रहरी र सम्बन्धित निकायले अनुसन्धान संवेदनशील चरणमा रहेकाले भाग्न नदिन सचेत रहेर निगरानी बढाएको स्रोतको दाबी छ ।
मरिण क्षेत्रमा सञ्चालनको तयारीमा रहेको चिनियाँ लगानीको भैँसीको मासु प्रशोधन परियोजनाको व्यवस्थापन र लगानी संरचनामा समेत प्रचण्ड परिवार जोडिएपछि उनीहरुको सम्पत्तिको स्रोतमाथि प्रश्नहरू उठिरहेको छ । परियोजनासँग सम्बन्धित जग्गा किनबेच, व्यवस्थापन, स्थानीय समन्वय तथा प्रशासनिक काममा प्रचण्ड परिवारको संलग्नता बढेपछि शंकाहरू बढेका छन् । यसमा स्थानीयस्तरमा पनि विरोध भएको छ । उक्त परियोजनाको लागत २७ अर्ब रुपैयाँ रहेको बताइएको छ । आर्थिक दैनिकबाट सभार .