मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

१८ लाख विवादमा सिन्धुली क्षेत्र नम्बर १ का सांसद धनेन्द्र कार्की

शुक्रवार , श्रावण १५, २०८३

सिन्धुली ,१५ साउन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुली क्षेत्र नम्बर १ का सांसद धनेन्द्र कार्की घर खरिदसम्बन्धी आर्थिक लेनदेन विवादमा परेका छन् । चितवनको खैरहनी नगरपालिकामा करिब ११ महिनाअघि खरिद गरेको दुई तले घरको रकम भुक्तानी विवाद बढ्दै जाँदा घरधनी पक्षले उनलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न निवेदन दिएको छ ।

खैरहनीका मनोज महतोको घर सांसद कार्कीले एक करोड रुपैयाँमा खरिद गरेका थिए । महतो विदेश जाने तयारीमा रहेपछि उनले उक्त घर बिक्री गरेका हुन् । खरिद सम्झौताअनुसार कार्कीले तत्काल ७० लाख रुपैयाँ भुक्तानी गरेका थिए । बाँकी ३० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन समय लाग्ने भएपछि घरधनी महतोको सहमतिमा उक्त रकम उनका ससुरा रुदल महतोको खातामा भुक्तानी गर्ने व्यवस्था गरिएको थियो ।

तर सहमतिअनुसार निर्धारित समयमा रकम भुक्तानी हुन नसकेपछि विवाद उत्पन्न भएको हो । सांसद कार्कीले दिएको आइसीएफसी बैंकको चेकसमेत साटिन नसकेको बताइएको छ । त्यसपछि रुदल महतोले गत फागुन २१ गते भएको निर्वाचनअघि चेक बाउन्स गराउँदै प्रहरीमा उजुरी दिएका थिए । सोही घटनापछि सांसद कार्कीको बैंक खाता रोक्का भएको थियो ।

चेक बाउन्ससम्बन्धी विवादका कारण सांसदको शपथ ग्रहण प्रक्रियामा समेत समस्या देखिएपछि कार्कीले १० लाख रुपैयाँ भुक्तानी गरी मुद्दा फिर्ता गराउन पहल गरेका थिए । घरधनी मनोज महतोका अनुसार गत असोजयता उनले सांसद कार्कीबाट १० लाख रुपैयाँ नगद, २२ लाख रुपैयाँको चेक र थप ५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । यसरी एक करोड रुपैयाँ मूल रकममध्ये हालसम्म ८५ लाख रुपैयाँ भुक्तानी भएको उनको भनाइ छ ।

महतोका अनुसार अब मूल रकमतर्फ १५ लाख रुपैयाँ बाँकी छ भने ब्याजसमेत जोड्दा करिब १८ लाख रुपैयाँ पुग्ने हिसाब निकालिएको छ । सांसद कार्कीले पनि ब्याजसहित करिब १८ लाख रुपैयाँ तिर्न बाँकी रहेको स्वीकार गरेका छन् ।

गत फागुन २८ गते सांसद कार्कीले दिएको २२ लाख रुपैयाँको चेक पुनः नसाटिएपछि महतोले चेक बाउन्स प्रमाणपत्र लिएका छन् । उनले प्रभु बैंकको भरतपुर शाखाबाट उक्त प्रमाणपत्र लिएको र त्यसपछि कर्जा सूचना केन्द्रको कालोसूची प्रक्रियाका लागि निवेदन दिएको बताएका छन् ।

महतोका अनुसार बैंकमा पछिल्लो अवस्थाबारे बुझ्दा निवेदन राष्ट्र बैंकमा पठाइसकिएको र कालोसूची प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ । पटक–पटक रकम भुक्तानीका लागि आग्रह गर्दा पनि समाधान नभएपछि आफू कानुनी प्रक्रियामा जान बाध्य भएको उनको भनाइ छ । यद्यपि, हालसम्म उनले प्रहरीमा नयाँ मुद्दा दर्ता भने गरेका छैनन् ।

यता सांसद कार्कीले भने आफू समस्यामा परेका बेला सहयोग गर्ने उद्देश्यले उक्त घर खरिद गरेको दाबी गरेका छन् । उनले रकम भुक्तानीमा केही ढिलाइ भए पनि आजै सबै बाँकी रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । स्रोतः नेपाल प्रेस

 

1.jpg
undefined

प्रतिक्रिया