सिन्धुली ,२५ जेठ - सिन्धुलीको मरिणमा सञ्चालनको तयारीमा रहेको चिनियाँ लगानीको भैँसीको मासु प्रशोधन परियोजनाको व्यवस्थापन, लगानी संरचना र निर्णय प्रक्रियाका बारेमा विवाद बढेको छ । खासगरी उक्त परियोजनामा अमर यादवको बढ्दो सक्रियताले स्थानीय सशंकित भएका हुन् ।
परियोजनासँग सम्बन्धित जग्गा किनबेच, व्यवस्थापन, स्थानीय समन्वय तथा प्रशासनिक काममा यादवको प्रभाव देखिएको छ । यादव नेकपाका अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालसँग निकट रहेर काम गरिरहेका छन् । सोही कारण उक्त परियोजनाको लगानीको बारेमा चासो बढेको हो ।
परियोजनामा चिनियाँ पक्षको लगानी रहेको बताइए पनि लगानीको स्रोत, स्वामित्व संरचना र साझेदारीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । यही कारण स्थानीयस्तरमा उक्त परियोजनाको पारदर्शितामाथि प्रश्न उठेको हो ।
स्रोतहरूका अनुसार परियोजनासँग सम्बन्धित चिनियाँ कम्पनीको सम्पर्क कार्यालय काठमाडौंको कुपण्डोल क्षेत्रमा रहेको बताइन्छ । यस्तै, परियोजनासँग जोडिएको भनिएको ‘नेम’ संस्थाका डा. नवीन शर्माको भूमिकामाथि पनि चर्चा भइरहेको छ । केही स्थानीयले अमर यादवको समूहसँग मिलेर अपारदर्शी ढंगले काम भइरहेको आरोप लगाएका छन् ।
यसैबीच, परियोजनासँग सम्बन्धित व्यापारिक गतिविधिका क्रममा चीनमा गंगा दाहालको पहिलो श्रीमान नारायणविक्रम प्रधान पट्टिकी छोरी स्मिताको नाममा कम्पनी दर्ता गरिएको भन्ने चर्चा पनि स्थानीय स्तरमा चलिरहेको छ ।
परियोजनाले स्थानीय किसानलाई बजार, रोजगारी र आर्थिक अवसर दिने अपेक्षा गरिए पनि स्वामित्व, लगानी र व्यवस्थापनबारे स्पष्ट जानकारी नआउँदा शंका बढ्दै गएको हो । केही दिनअघि मरिणका युवाहरूले पारदर्शिता र जानकारी सार्वजनिक गर्न माग गर्दै आन्दोलनसमेत गरेका थिए । परियोजनामा अनाधिकृत व्यक्तिहरूको बढी चलखेलले कालो धनको प्रयोग पनि हुनसक्ने आशंका बढाएको हो ।
अझ रोचक पक्ष त के देखिन्छ भने सम्पत्ति शुद्धीकरण छानबिन अन्तिम चरणमा पुगेपछि अर्धभूमिगत रहेकी प्रचण्डपुत्री गंगा दाहाल अमर यादवसगै दैनिकजसो सँगै रहेको स्रोतको दाबी छ ।
सामान्य परिवारका यादव अहिले २७ अर्ब लगानीको मासु प्रशोधन उद्योगको नाममा मरिणमा खुल्न लागेको परियोजनाको चिनियाँ पक्षका नेपाली हर्ताकर्ता समेत हुन् । उनी चिनियाँ भाषा बोल्न त के नेपाली भाषामा लेखपढ गर्न समेत नसक्ने व्यक्ति हुन् । तिनै यादवले पूर्वी रुकुममा चुनावी अभियानको क्रममा दर्जनौँ परियोजनाका गाडी समेत लिएर गएका थिए । सोही कारण उनको भूमिकाप्रति स्थानीयले आवाज उठाएका हुन् । आर्थिक दैनिकबाट साभार