काठमाडौँ, ०९ जेठ – जल तथा मौसम विज्ञान विभागले देशका पश्चिम तथा मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा अत्यधिक गर्मी तथा तातो हावाको लहर (लु) को जोखिम बढ्दै गएको भन्दै विशेष बुलेटिन जारी गरेको छ । विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा उच्च तापक्रम कायम रहने पूर्वानुमान गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
विभागका अनुसार ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ भने केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्न सक्ने देखिएको छ । मौसमविद्हरूले यस अवस्थालाई मध्यमदेखि उच्च जोखिमयुक्त तातो लहरको संकेतका रूपमा व्याख्या गरेका छन् ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी जिल्लासहित लुम्बिनी प्रदेशका तराई भूभागमा केही दिनयता अत्यधिक गर्मी महसुस गरिएको छ । उनका अनुसार केही स्थानमा जेठ ६ गतेयता नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भइसकेको छ । यसले जनस्वास्थ्य, दैनिक जनजीवन तथा श्रम क्षेत्रमा प्रत्यक्ष असर पार्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङलाई विशेष सतर्कता अपनाउनुपर्ने जिल्लाका रूपमा उल्लेख गरेको छ । त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि उच्च तापक्रमको प्रभाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी हुने, अत्यधिक थकान महसुस हुने, टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी बाउँडिने, वान्ता हुने तथा बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन विभागले सुझाव दिएको छ ।
विभागले दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्किन, सकेसम्म चिसो स्थानमा बस्न, हल्का तथा सुतीका कपडा प्रयोग गर्न र बाहिर जाँदा टाउको छोप्न आग्रह गरेको छ । साथै प्रशस्त मात्रामा पानी, झोल पदार्थ, जुस तथा सर्वत सेवन गर्न र स्वास्थ्यमा असहजता महसुस भए तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा सार्वजनिक गर्ने मौसमसम्बन्धी सूचना तथा बुलेटिन नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।