मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सरकारमा २६ दिनमै झट्का : विवादले दुई मन्त्री बाहिरिए

बुधवार , बैशाख ९, २०८३

काठमाडौं, ९ वैशाख – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकारले कार्यकाल सुरु गरेको छोटो अवधिमै दुई मन्त्री पदबाट बाहिरिएका छन् । सरकार गठनको २६ दिन नपुग्दै देखिएको यो घटनाक्रमले सरकारभित्रको पारदर्शिता, जवाफदेहिता र नैतिक मापदण्डबारे गम्भीर प्रश्न उठाएको छ ।

सरकार गठनको प्रारम्भिक चरणमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह विवादमा तानिएका थिए । आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराउने प्रयास गरेको आरोप लागेपछि उनीमाथि नैतिक दबाब बढेको थियो । सो विषय सार्वजनिक भएसँगै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल हस्तक्षेप गर्दै प्रधानमन्त्रीलाई साहलाई फिर्ता बोलाउन सिफारिस गरेको थियो । दलको सिफारिसअनुसार प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका थिए । साहले करिब १३ दिन मात्र मन्त्री पद सम्हालेका थिए ।

यसैबीच, सरकार गठन भएको २६ दिनमै गृहमन्त्री सुधन गुरुङले पनि पदबाट राजीनामा दिएका छन् । पछिल्ला दिनहरूमा उनको सम्पत्ति विवरणमाथि उठेका प्रश्नले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको थियो । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक देखिएको भन्दै आलोचना भइरहेका बेला थप रूपमा माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरिएको लगानीसम्बन्धी विवरण सार्वजनिक भएको थियो ।

त्यसैगरी, गुरुङद्वारा सञ्चालित ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा प्राप्त सहयोग रकम व्यक्तिगत खातामार्फत् कारोबार गरिएको भन्ने विषय बाहिरिएपछि उनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको थियो । यी घटनाक्रमले उनको नैतिक आधार कमजोर बनाउँदै लगेको र सार्वजनिक तथा राजनीतिक दबाब तीव्र बन्दै गएको थियो । अन्ततः बढ्दो दबाबकै बीच उनले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

सरकार गठन भएको छोटो अवधिमै दुई महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरूको बहिर्गमनले सरकारको स्थायित्व र विश्वसनीयतामाथि चुनौती थपिएको विश्लेषण गरिएको छ । पारदर्शिता र सुशासनको प्रतिवद्धता व्यक्त गर्दै आएको वर्तमान सरकारले आफ्नै प्रारम्भिक चरणमै यस्तो परिस्थिति सामना गर्नु परेपछि आगामी दिनमा नेतृत्वले कसरी विश्वास पुनःस्थापित गर्छ भन्ने विषयमा चासो बढेको छ ।

प्रतिक्रिया