काठमाडौं, १२ चैत — देशभर पुनः सक्रिय हुन लागेको पश्चिमी वायु प्रणालीका कारण यस साताको अन्त्यतिर वर्षा, हावाहुरी तथा मेघगर्जन हुने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ, यद्यपि यसको प्रभाव क्षेत्रअनुसार फरक–फरक रहनेछ ।
मौसमविद्हरूका अनुसार हाल विकसित भइरहेको प्रणालीले पूर्वदेखि पश्चिमसम्म प्रभाव पार्ने देखिए पनि पूर्वी नेपालमा वर्षा अपेक्षाकृत बढी र पश्चिम क्षेत्रमा कम रहने आँकलन गरिएको छ । तर यसको विपरीत हावाहुरीको प्रभाव भने पश्चिम क्षेत्रमा बढी देखिन सक्ने अनुमान गरिएको छ ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले काठमाडौं उपत्यकामा पनि शुक्रबार साँझदेखि शनिबारसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएका छन् । यससँगै उपत्यकामा केही स्थानमा हावाहुरी चल्न सक्ने भए पनि भौगोलिक बनावटका कारण ठूलो क्षति पु¥याउने खालको हुरी आउने सम्भावना न्यून रहेको विज्ञहरूको भनाइ छ ।
प्रिमनसुनको समय भएकाले चट्याङ, असिना तथा हुरीबतासका घटना बढ्ने सम्भावना रहने हुँदा सतर्कता अपनाउन मौसमविद् बिनु महर्जनले सुझाव दिएकी छन् । उनका अनुसार बिहीबारदेखि नै मौसममा परिवर्तनका संकेत देखिन सुरु हुनेछन् र क्रमशः प्रणाली सक्रिय बन्दै जानेछ ।
उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको छ । यसले तापक्रममा केही गिरावट ल्याई चिसो महसुस बढाउने अनुमान गरिएको छ । कृषि क्षेत्रमा भने वर्षाले केही राहत पु¥याउन सक्ने भए पनि असिना र हावाहुरीले आंशिक क्षति पु¥याउने जोखिम यथावत् रहनेछ ।
जलवायु अध्येता डा. धर्मराज उप्रेतीका अनुसार यो प्रणाली चैत ६ र ७ गते सक्रिय भएको प्रणालीभन्दा कमजोर देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले पनि यसपटकको प्रणाली मध्यम स्तरको हुने संकेत गरेका छन् । उनका अनुसार यसको प्रभाव शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म विशेष रूपमा सक्रिय रहनेछ ।
उता भारतका विभिन्न क्षेत्रमा भने यस प्रणालीको प्रभाव तुलनात्मक रूपमा बढी पर्ने अनुमान गरिएको छ । विशेष गरी उत्तर भारतका राज्यहरूमा मेघगर्जनसहित वर्षा, हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको छ ।
समग्रमा हेर्दा नयाँ प्रणालीले देशभर मौसममा उल्लेखनीय परिवर्तन ल्याउने भए पनि ठूलो जोखिम सिर्जना गर्ने सम्भावना कम देखिएको छ । तथापि, हावाहुरी, चट्याङ र असिनाबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।