काठमाडौं, ६ चैत — मध्यपूर्वमा बढ्दो तनाव र ‘होर्मुज स्ट्रेट’ क्षेत्रमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजार थप अस्थिर बन्दै गएको छ । साउदी अरबका अधिकारीहरूले उक्त अवरोध अप्रिलको अन्त्यसम्म कायम रहेमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १८० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टअनुसार, नाम नखुलाइएका साउदी स्रोतहरूले वर्तमान भूराजनीतिक अवस्थालाई अत्यन्त संवेदनशील रहेको बताएका छन् । फेब्रुअरी २८ देखि सुरु भएको इरान–इजरायल तनावपछि तेल बजारमा तीव्र उतारचढाव देखिएको छ । बिहीबार ब्रेन्ट क्रुडको मूल्य क्षणिक रूपमा ११९ डलर नजिक पुगेपछि पुनः घटेको थियो ।
रियादस्थित किङ फैसल सेन्टरका विदेश नीति विशेषज्ञ उमेर करिमका अनुसार, यदि लाल सागर क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारमा आक्रमण जारी रह्यो भने तेलको मूल्य कम्तीमा १५० डलरभन्दा माथि पुग्ने सम्भावना प्रबल छ । उनले युरोप र एसियाबीचको प्रमुख ऊर्जा मार्ग नै जोखिममा परेको उल्लेख गरेका छन् ।
यसैबीच, कतारको रास लाफानस्थित विश्वकै ठूलो एलएनजी निर्यात केन्द्रमा इरानको आक्रमण भएपछि त्यसको क्षति र मर्मतसम्भार अवधि अनिश्चित बनेको छ । पेरिसस्थित ऊर्जा विश्लेषक एनी–सोफी कोर्बोका अनुसार, क्षतिको पूर्ण मूल्याङ्कन हुन बाँकी भए पनि मर्मतमा महिनौं लाग्न सक्ने देखिन्छ ।
अघिल्ला घटनाहरूलाई आधार मान्दा, यस्तो संरचना पुनः सञ्चालनमा ल्याउन लामो समय लाग्ने सम्भावना रहेको उनले बताइन् । सबैभन्दा खराब अवस्थामा रास लाफान सन् २०२६ सम्म पूर्ण रूपमा सञ्चालनमा नआउन सक्ने अनुमान गरिएको छ ।
विशेषज्ञहरूका अनुसार, यसले विश्वव्यापी ग्यास आपूर्ति पाँच वर्ष पछाडि धकेल्न सक्छ र ऊर्जा मूल्यमा व्यापक प्रभाव पार्नेछ । हालको अवस्था लम्बिँदै गएमा विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना हुने देखिएको छ ।