मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

दीपेन्द्र ऐरी बेल्जियमको इयू टी–२० लिगमा अनुबन्धित

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं,०६ चैत — नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बेल्जियममा आयोजना हुने इयू टी–२० लिगमा सहभागिता जनाउने भएका छन् । उनलाई बेल्जियमको क्लब जेबी ब्रुग्सले आधिकारिक रूपमा अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

जेबी ब्रुग्सले आफ्नो टोलीलाई थप सुदृढ बनाउन ऐरीलाई अनुबन्ध गरेको बताउँदै उनको अनुभव र प्रदर्शनले टोलीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । नेपाली क्रिकेटमा पछिल्लो समय उत्कृष्ट लयमा रहेका ऐरीको अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड प्रदर्शनले युरोपेली लिगमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

जेबी ब्रुग्स, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्ट्ससँग सम्बन्धित ड्रीम स्पोट्र्सको स्वामित्वमा रहेको क्लब हो । ऐरी भने एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्दै आएका छन् । यसअघि पनि उनी विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् ।

जेबी ब्रुग्सले यसअघि नै न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका अनुभवी ब्याट्सम्यान राशी भान डर डुसेनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । यसले टोलीलाई सन्तुलित र प्रतिस्पर्धी बनाउने अनुमान गरिएको छ ।

इयू टी–२० बेल्जियम प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । डेस्टिनो लेजेन्ड्स स्पोट्र्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त प्रतियोगितामा कुल ६ टोली सहभागी हुनेछन् । प्रतियोगिताको ड्राफ्ट आगामी मार्च २४ मा तय गरिएको छ, जसमा नेपालका १८ खेलाडी पनि सहभागी हुने जनाइएको छ ।

यस प्रतियोगितामा अन्य नेपाली खेलाडीहरूको पनि आकर्षक उपस्थिति रहने देखिएको छ । लियेज रेड लायन्स टोलीले नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ । यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थिति अझ विस्तार हुँदै गएको संकेत गर्छ ।

दीपेन्द्र ऐरीको सहभागिताले नेपाली क्रिकेटप्रति अन्तर्राष्ट्रिय चासो थप बढ्ने विश्वास गरिएको छ । साथै, युवा खेलाडीहरूका लागि विदेशी लिगमा अवसरको ढोका खुल्दै गएको सन्देश पनि यसले दिएको छ ।

प्रतिक्रिया