काठमाडौं,१२ फागुन — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ पुनः घुँडाको गम्भीर चोटसँग जुधिरहेकी छिन् । उपचारका लागि सहयोग अपिल गर्दै उनले सामाजिक सञ्जालमा गरेको पोस्टपछि खेल जगत तरंगित बनेको छ । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले पर्याप्त सहयोग नगरेको गुनासो गरेपछि समर्थक र खेलाडी एन्फाप्रति आक्रोशित देखिएका छन् ।
साम्बाका अनुसार उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान छ । दायाँ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्टमा पुनः समस्या देखिनुका साथै एमसीएलमा गम्भीर चोट लागेकाले जटिल शल्यक्रिया अपरिहार्य बनेको उनले जनाएकी छन् । एमसीएल अर्थात् मेडियल क्रुसिएट लिगामेन्ट घुँडाको स्थिरताका लागि अत्यन्त महत्वपूर्ण स्नायु हो। यसमा गम्भीर चोट लागेमा निको हुन कम्तीमा छ महिना लाग्न सक्छ, र उपचारमा लापरबाही भए खेलाडीको करियरमै असर पर्न सक्छ ।
साम्बालाई डेढ महिनाअघि अष्ट्रेलियन ‘ए’ लिग खेल्ने क्रममा वेलिङ्टन फिनिक्सबाट प्रतिस्पर्धा गर्दै ब्रिसबेन रोअरकी गोलकिपरसँग ठोक्किँदा चोट लागेको हो । क्लबले न्युजिल्यान्डमै उपचार गर्ने प्रस्ताव गरेको थियो । तर, चोटको जटिलता र पूर्वअनुभवका आधारमा उनले कतारको दोहास्थित अस्पेटर अस्पतालमै उपचार गराउन चाहेको बताएकी छन् ।
सावित्राको २०७८ सालमा सोही घुँडामा एसीएलको शल्यक्रिया अस्पेटरमै भएको थियो । त्यतिबेला एन्फाको पहलमा कतार फुटबल संघले पनि सहयोग गरेको थियो । सफल उपचार र पुनस्र्थापनापछि उनी मैदानमा फर्किन सफल भएकी थिइन् । यसपटक पनि उच्चस्तरीय सुविधा र विशेषज्ञ उपचारकै लागि अस्पेटर रोजेको उनको भनाइ छ ।
सन् २००७ देखि सञ्चालनमा आएको अस्पेटर खेलकुद चोट उपचारमा विश्वस्तरको अस्पताल मानिन्छ । अत्याधुनिक शल्यक्रिया र पुनस्र्थापना सुविधाका कारण विश्व फुटबलका चर्चित खेलाडीहरूले पनि त्यहाँ उपचार गराएका छन् ।
एन्फाले पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको र बाँकी रकम आफैं जुटाउनुपर्ने सर्त राखिएको साम्बाको आरोप छ । चौतर्फी आलोचनापछि एन्फाले आवश्यक सहयोग गर्ने जनाएको भए पनि सामाजिक सञ्जालमा बहस र असन्तोष कायमै छ । यता, खेलाडी, समर्थक र विभिन्न संघसंस्थाले साम्बाको उपचारका लागि साथ र सहयोग जुटाउन थालेका छन् ।
गम्भीर चोटका बीच साम्बाको लक्ष्य स्पष्ट छ,उचित उपचार, पूर्ण पुनस्र्थापना र पुनः राष्ट्रिय टोलीका लागि मैदानमा दमदार पुनरागमन ।