काठमाडौँ,२८ असोज – नेपालले फेरि एक पटक हृदयधड्काउने नाटकीय जित दर्ता गर्दै आगामी टी–२० विश्वकपको ढोका ठोक्किने सम्भावना बलियो बनाएको छ । कतारविरुद्धको खेलमा नेपालले अन्तिम ओभरसम्म तनाबपूर्ण क्षण झेले पनि ५ रनले जित निकाल्दै ‘सुपर सिक्स’ चरणमा दोस्रो स्थानमा उक्लिएको छ ।
अघिल्लो दिन यूएईमाथि १ रनको असाधारण जित निकालेको नेपालले कतारविरुद्ध पनि उस्तै रोमाञ्चक परिणाम दोहोर्यायो। यस जितसँगै नेपालको अंकसंख्या छ पुगेको छ र टोलीलाई विश्वकप सुनिश्चित गर्न अब बाँकी दुई खेलमध्ये कम्तीमा एउटा जित आवश्यक छ । नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।
नेपालको जितमा कप्तान रोहित पौडेल र स्पिनर सन्दीप लामिछाने नायक बने। पौडेलले ५८ रनको अर्धशतकीय पारी खेले भने सन्दीपले ५ विकेट लिँदै बलिङमा प्रभाव जमाए । सन्दीपले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा दोस्रो पटक पाँच विकेट हात पारेका हुन् ।
खेलपछि सन्दीपले भने, “देशलाई चाहिएको बेला प्रदर्शन गर्न पाउनु गर्वको कुरा हो। हामी सबैमा जितको भोक छ ।” त्यस्तै खुसी मुद्रामा रहेका कप्तान रोहितले भने, “हामीमाथि ईश्वरको कृपा छ । अब भारतमा विश्वकप खेल्नु हाम्रो सपना हो ।”
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै १४७ रनको योगफल बनायो । प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेख सस्तोमा आउट भए पनि रोहित र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे । ऐरीले २६ रन बनाए भने अन्त्यतिर गुलशन झाले ८ बलमा दुई छक्का प्रहार गर्दै १६ रन थपे ।
तर नेपालले फेरि मध्यक्रममा कमजोरी देखायो । पन्ध्रौँ ओभरपछि लगातार चार विकेट गुमाउँदै स्कोर रोकिएको थियो ।
१४८ रनको लक्ष्य पछ्याएको कतार एक समय सहजै विजयतर्फ बढेको देखिन्थ्यो । ओपनर इमाल लियानागे (५६) र जुबेर अली (५२) को ७९ रनको साझेदारीले कतारलाई बलियो स्थिति दिलायो । तर सन्दीप लामिछानेले लियानागेलाई बोल्ड गर्दै खेल मोड बदलिदिए ।
चौधौँ ओभरमा दुई लगातार रनआउट — ऐरी र आदिल आलमका सटीक थ्रोले नेपाललाई खेलमा फर्काए। त्यसपछि कतारी ब्याट्सम्यानहरू क्रमशः आउट हुँदै गए । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको कतार सन्दीपको जादुई बलिङ अगाडि टिक्न सकेन। उनले तीन रन मात्र दिँदै दुई विकेट थपे र जित पक्का गरे ।
यो जितसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय करिअरका २५० विकेट पूरा गरेका छन् । हालसम्म उनले टी–२० र एकदिवसीय दुवै प्रारूपमा समान १२७ विकेट लिएका छन् ।
नेपालले पछिल्ला दुई खेलमा अविश्वसनीय ढङ्गले जित निकालेको छ । अब ओमान वा सामोआविरुद्धको आगामी खेलमध्ये कम्तीमा एउटा जित निकाल्न सके नेपालको टी–२० विश्वकप यात्रा सुनिश्चित हुनेछ ।