आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

सिन्धुलीमा अटो दुर्घटना : चार घाइते, एकको अवस्था गम्भीर

मंगलवार , भाद्र ३१, २०८२

सिन्धुली, ३१ भदौ – सिन्धुलीको मरिण गाउँपालिका–६ सखौरीस्थित मदन भण्डारी राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । साँझ करिब ५ बजेर १० मिनेटको समयमा हरिहरपुरगढीतर्फ जाँदै गरेको ना २ ह ८४० नम्बरको अटो अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अटो चालक सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ क्यानखोला निवासी ४४ वर्षीया विष्णुमाया मोक्तानले अटो चलाइरहनुभएको थियो । दुर्घटनापछि उहाँसहित अटोमा सवार चारै जना घाइते भएका हुन् ।

दुर्घटनापछि घाइतेहरुलाई तत्काल कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि चालक मोक्तानलाई सामान्य अवस्था देखिँदा साँझ ६ बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । सोही अटोमा सवार हरिहरपुरगढी–५ बोटेनीकी २१ वर्षीया अनिता तामाङ भने गम्भीर घाइते हुनु भएको छ । नाक र चिउँडोमा गहिरो चोट लागेर बोल्न नसक्ने अवस्थामा तामाङलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको छ ।

त्यस्तै, अटोमा सवार २० वर्षीया देवकी माझी र ४६ वर्षीया सुनमाया थिङ पनि सामान्य घाइते हुनु भएको छ । दुवै जनालाई प्राथमिक उपचारपछि साँझकै समयमा डिस्चार्ज गरिएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त अटो चालक र अटो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कपिलाकोटबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया