शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एनपीएल–२ को आयोजना मिति घोषणा

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं,०५ भदौ — नेपाली क्रिकेटको बहुप्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर महिनामा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ गतेदेखि २७ गतेसम्म (नोभेम्बर १७–डिसेम्बर १३, २०२५) काठमाडौंमा आयोजना हुने जानकारी दिएको छ ।

यसअघि लामो समयदेखि लिग आयोजनाबारे अनिश्चितता रहेको भए पनि क्यानले मिति घोषणा गरेपछि नेपाली क्रिकेटमा नयाँ उत्साह जागेको छ । एनपीएललाई नेपाली क्रिकेटको व्यावसायिकता र लोकप्रियता बढाउने महत्वपूर्ण प्रतियोगिता मानिँदै आएको छ ।

लिग सुरु हुनु अघि साउन २४ गते मिनी अक्सन सम्पन्न भइसकेको छ । अक्सनमार्फत खेलाडी छनोट गर्ने क्रममा युवा र अनुभवी दुवै प्रकारका क्रिकेटरलाई मौका दिइएको छ । यसले घरेलु प्रतिभा चिनाउने र विदेशी खेलाडी आकर्षित गर्ने अवसर दिने अपेक्षा गरिएको छ ।

यस संस्करणमा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा उतरणेछन जस्मा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स छन । यी टोलीहरूबीच हुने प्रतिस्पर्धाले राजधानीमा क्रिकेटको माहोल तताउने निश्चित देखिन्छ । टोलीहरूले अक्सनपछि आफ्नो स्क्वाडलाई मजबुत बनाउन तयारी सुरु गरिसकेका छन् ।

एनपीएलको दोस्रो संस्करणमा रात्रीकालीन खेलहरूको व्यवस्था पनि गरिएको छ । त्रिवि क्रिकेट मैदानमा प्लड्लाइट प्रयोग गरेर हुने खेललाई नेपाली क्रिकेटमा नयाँ अनुभवका रूपमा लिइएको छ । यसअघि घरेलु प्रतियोगितामा रात्रीकालीन खेल खासै नभएकाले यसपटक दर्शकको आकर्षण झनै बढ्ने अनुमान गरिएको छ ।

एनपीएल केवल प्रतियोगिता मात्र नभई नेपाली क्रिकेटलाई व्यावसायिक संरचनामा उकास्ने प्रयास पनि हो । खेलाडीसँगै प्रशिक्षक, अम्पायर, प्राविधिक तथा व्यवस्थापकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्य लिगसँग जोडिएको छ ।

त्यसैगरी, लिगमा हुने विज्ञापन, प्रायोजन र टिकट बिक्रीले क्यानलाई आर्थिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ ।

पहिलो संस्करणमै ठूलो ध्यान तानेको एनपीएलले दोस्रो संस्करणमा अझ ठूलो भीड तान्ने विश्वास गरिएको छ । नेपाली क्रिकेटका समर्थकले लामो समयदेखि निरन्तर आयोजना हुने व्यावसायिक लिगको माग गर्दै आएका थिए । यसपटकको संस्करण नयाँ खेल प्रणाली, आकर्षक इनाम, अन्तर्राष्ट्रिय स्तरको मञ्च र नयाँ प्रतिभा खोज्ने अवसरका कारण थप विशेष हुने निश्चित देखिन्छ ।

यसरी, मंसिरमा हुने एनपीएल–२ ले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । क्रिकेटप्रेमी दर्शक, खेलाडी र सरोकारवालाहरू अहिले नै उत्साहित बनेका छन् ।

प्रतिक्रिया