शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

टप एण्ड टी–ट्वान्टी सिरिज : आज नर्दन टेरिटोरी स्ट्राइकसँग भिड्दै नेपाल

शुक्रवार , श्रावण ३०, २०८२

 

काठमाडौं,३० साउन — आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियाको डार्विनमा ‘टप एन्ड टी–२० सिरिज’ खेल्न पुगेको छ । बिहिवारदेखि सुरु भएको यस प्रतियोगितामा आज नेपाली समयअनुसार २ः१५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेको छ । यो सिरिज नेपाली टोलीका लागि महत्वपूर्ण अभ्यास मानिएको छ, जसले गर्दा विश्वकप छनोटअघि आफ्नो प्रदर्शन सुधार गर्न र नयाँ रणनीति बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस टोलीमा अनुभवी खेलाडीहरू जस्तै दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीसँगै युवा प्रतिभाहरू गुलसन झा, भीम सार्की, रिजन ढकाल, र लोकेस बमलाई पनि स्थान दिइएको छ । चोटका कारण केही समय बाहिर रहनुभएका कुशल मल्लको टोलीमा पुनरागमनले टोलीको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाएको छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ, जसमा नेपालसँगै पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग च्याम्पियन शिकागो किंग्सम्यान जस्ता अन्तर्राष्ट्रिय टोलीहरू छन् । यसका साथै, अस्ट्रेलियाको प्रसिद्ध बिग बास लिग का टोलीहरू होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्सका एकेडेमी टोलीहरूसँग पनि नेपालले प्रतिस्पर्धा गर्नेछ । यी प्रतिष्ठित टोलीहरूसँग खेल्दा नेपाली खेलाडीहरूले उच्च स्तरको प्रदर्शनको अनुभव बटुल्ने अवसर पाउनेछन् ।

खेल तालिका

नेपालले यस सिरिजको लिग चरणमा कुल ६ खेल खेल्नेछ । पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेलेपछि नेपालले आगामी दिनमा थप चुनौतीहरूको सामना गर्नेछ । नेपालको खेल तालिका यस प्रकार छः

अगस्ट १६ः बंगलादेश ‘ए’ विरुद्ध

अगस्ट १८ः मेलबर्न स्टार्स विरुद्ध

अगस्ट १९ः होबार्ट हरिकेन्स विरुद्ध

अगस्ट २०ः मेलबर्न रेनेगेड्स विरुद्ध

अगस्ट २२ः पाकिस्तान ’ए’ विरुद्ध (शाहिन्स)

लिग चरणको समाप्तिपछि शीर्ष चारमा पर्ने टोलीहरूले सेमिफाइनल खेल्नेछन् । यो सिरिज नेपाली टोलीका लागि आफ्नो क्षमता र कमजोरी पहिचान गर्ने उत्कृष्ट मौका हुनेछ, जसले विश्वकप छनोटमा राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ ।

प्रतिक्रिया