काठमाडौं,२३ साउन – एएफसी यु–२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो ।
निर्धारित ९० मिनेटको अन्तिम केही सेकेन्ड बाँकी हुँदा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसलाई पूर्णिमा राईले छोडिदिँदा सुक्रियाले बाँया तर्फबाट गोल गर्दै नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण गोल गर्नुभएको हो । अनमार्क रहनुभएकी सुक्रियाले गोल गर्दै नेपालको एसिया कपको यात्रा जारी राख्नुभएको हो ।
खेलको छैटौं मिनेटमा नेपालकी डिफेन्डर सरिता नाथले हानेको फ्री किक सिधा किपरको हातमा गयो । खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो ।
खेलको ३८औं मिनेटमा नेपालकी फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो । यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो । पहिलो हाफ शून्य बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा नेपालले निकै आक्रमक फुटबल खेल्यो । जसको फलस्वरुप दोस्रो हाफको अन्तिम सेकेन्डमा नेपालले विजयी गोल गरेको हो ।
यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १–१ बराबरी खेलेको थियो । नेपालले छनोट चरणको अन्तिम खेल आइतवार बलियो उत्तर कोरियासँग खेल्नेछ । साउदी अरेबीयाले पहिलो खेलमा उत्तर कोरियासँग १५–० को हार व्यहोरेको थियो । कोरियाले आजको दोस्रो खेल घरेलु टिम भुटानसँग खेल्नेछ ।