मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

क्रिकेटप्रति उत्साह बढ्दै, सल्यानमा विद्यालयस्तरीय एमएम कप हुने

बुधवार , श्रावण २१, २०८२

सल्यान, २१ साउन – सल्यानमा पछिल्लो समय क्रिकेट खेलप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । यही उत्साहलाई थप प्रोत्साहन दिन खलंगास्थित निजी विद्यालय एमएम एकेडेमीले दोस्रो जिल्ला स्तरीय एमएम कप क्रिकेट प्रतियोगिता–२०८२ आयोजना गर्न लागेको हो ।

एकेडेमीका अध्यक्ष महेश देवकोटाका अनुसार प्रतियोगिता भदौ ११ गतेदेखि १४ गतेसम्म सदरमुकाम खलंगाको लुहापिङ खेलमैदानमा सञ्चालन हुनेछ । यसमा जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै म्यान अफ दि म्याच, प्लेयर अफ दि सिरिज लगायत विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । श्रोत जुटे पुरस्कार राशी अझ बढाइने अध्यक्ष देवकोटाले बताउनुभयो । प्रतियोगिताको न्यूनतम लागत करिब दुई लाख एक हजार ८०० रुपैयाँ अनुमान गरिएको छ । सहभागी विद्यालयले प्रति टोली ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ ।

क्रिकेट संघ सल्यानका अध्यक्ष सबिन हमालका अनुसार विद्यालयस्तरमै यस्ता प्रतियोगिता हुँदा विद्यार्थीमा खेलप्रतिको बुझाइ, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास हुन्छ । “यो स्तरबाट सिकेका खेलाडीहरू प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने सम्भावना हुन्छ,” उहाँले बताउनुभयो ।

एमएम एकेडेमीका प्रिन्सिपल पुर्ण बहादुर बस्नेतका अनुसार आवश्यक जनशक्ति र खेल सामाग्रीको व्यवस्थापन भइरहेको छ । सल्यानमा यसअघि पहिलोपटक २०७६ सालमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भएको थियो ।

 

प्रतिक्रिया