मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

बिहिवार , श्रावण १, २०८२

काठमाडौँ, १ साउन– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलंकाविरुद्धको खेलमा विजयी भएको छ ।

बङ्लादेशको ढाकास्थित बसुन्धरा किंग्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलंकालाई समान ७–० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको छ । चार खेल खेलेको श्रीलंका भने अंकविहीन छ ।

श्रीलंकाविरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गर्नुभयो । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गर्नुभयो ।

खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गर्नुभयो । त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाउनुभयो । खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गर्नुभयो । खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गर्नुभयो ।

मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाउनुभयो । खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गर्नुभयो । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दैै ७–० गोलअन्तरले विजयी दिलाउनुभयो । नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया