मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

आइतवार , आषाढ १५, २०८२

काठमाडौँ,१४ असार – इस्ट जोन कप यु–१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कोलालाम्पुरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो ।

नेपालले दिएको ४२१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो । इन्डोनेसियाका लागि ओपनर ब्याटर काभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाउनुभयो । दिभित नन्दाले १४ रन बनाउँदा अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

२४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो । त्यसपछि २५ औँ ओभरमा कप्तान विपिन शर्माले लगातार २ विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गर्नु भयो ।

नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ६ विकेट लिनुभयो । उहाँले ७.३ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिनुभयो । सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिनुभयो ।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि व्यक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेल्नुभयो । उहाँले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गर्नुभयो ।

प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गर्नुभएको थियो । पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो ।

परिमार्जनले ७१ रनको पारी खेल्नुभयो । रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेल्नुभयो । तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले बोर्डमा बलियो स्कोर बनाएको हो ।

नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो । त्यसपछिको २ ओभरमा २० रन जोड्यो । सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहनुभयो ।

इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिनुभयो । काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिनुभयो ।

समूह ’ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया