मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

एसिसी यु–१६ क्रिकेटः  नेपाल लगातार विजयी

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ, १० असार – नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा  नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेलमा विजयी हुँदै नेपालले चार अंक जोडेको छ । नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानले पहिलो खेलमा भूटानलाई पराजित गरेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै  ८० रन बनायो । एकासी रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाउनुभयो । बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट लिनुभयो ।

यसअघि जापानका लागि ब्याटिङ गर्ने क्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुभयो । बलिङतर्फ नेपालका लागि शुभम् खनालले सर्वाधिक पाँच विकेट लिनुभयो । त्यसैगरी, अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिनुभयो ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।

नेपालले तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया