काठमाडौं,७ असार – नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी–२०आई खेल खेल्ने खेलाडी बन्नुभएको छ ।
शुक्रबार भएको स्कटल्याण्डसँगको खेल उहाँको ८२औं थियो जुन् नेपाली क्रिकेट खेलाडीका लागि सर्वाधिक हो । त्यस खेलअघि करण केसी र दीपेन्द्रसिंह ऐरी समान ८१ खेल खेल्नुभएको थियो ।
तर शुक्रबारको खेलमा करण ड्रप हुनुभएकाले दीपेन्द्र एकल रूपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नुभएको हो । उहाँभन्दा पछाडि करणले ८१ खेल, सोमपाल कामीले ७८ खेल खेल्नु भएको छ । अन्य खेलाडीको खेल संख्या ७० भन्दा तल छ ।
यद्यपी यो तथ्यांक परिवर्तन हुन पनि सक्नेछ । दीपेन्द्र चोटका कारण वा अन्य कारण टिममा नभएका बेला करण केसीले उहाँलाई उछिनेर सबैभन्दा धेरै टी–२०आई खेल्ने खेलाडी बन्न सक्नुहुन्छ ।
दीपेन्द्रले ८२ खेलमा ३३.१४ को औसत र १४१ को स्ट्राइक रेटसहित १८२३ रन बनाउनुभएको छ भने १ शतक र ९ अर्धशतक बनाउनुभएको छ । उहाँले ५२ विकेट पनि लिनुभएको छ ।
उहाँको नाममा केही कीर्तिमान पनि बनेको छ । उहाँले कहिल्यै तोडिन नसक्ने ९ बलमा अर्धशतक बनाउनुभएको छ जुन् बराबर मात्र हुन सक्छ । त्यस्तै टी–२०आईमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्नै कमै खेलाडीको सूचीमा दीपेन्द्र पनि हुनुहुन्छ ।