सिन्धुली, – सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलले खुल्लामञ्चको छेउमा दाल चिनीको बिरुवा रोपेर कृषि उद्यम मेला समापन गर्नुभएको हो ।
सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको आयोजना मुना कृषि लिमिटेड भक्तपुरको सह–आयोजना र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयसहित जिल्लाका सरकारी–गैरसरकारी संघसंस्थाहरुसँगको साझेदारीमा मेला आयोजना गरिएको थियोे ।
उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोतसाधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउने उद्धेश्य रहेको मेलामा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु राखिएको थियो । जहाँ ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ । मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता सहभागि भएका आयोजकको अनुमान छ ।
साथै, योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम समेत मेलाका मुख्य आकर्षण रहेको मुना कृषि सहकारीका सिता पाण्डेले बताउनुभयो । मेला अवलोकन गर्न आउनेहरुलाई उद्यमीहरुले दुध र मोही निशुल्क खुवाएका छन् ।
यसैबिच बागमति प्रदेश स्तरिय महिला कृषि उद्यमी मेलामा आयोजित व्यवसायिक सोच योजना प्रस्तुती कार्यक्रममा आफ्नो उत्कृष्ट व्यवसायिक योजना सहित श्री नवज्योति बहिरा मा वि जसेदमारका बहिरा विद्यार्थी निखिल सुनुवार प्रथम हुनुभएका छन । नवज्योति बहिरा माविका निखिल सुनुवारले आफुले बहिरा भएता पनि उद्यम गरेर रोजगारी सिर्जना गर्ने र आफुले कमाएको रकमबाट धेरै अपांगता भएका बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने बताउनुभयो ।
उहाँले आउँदो बैशाखबाट हस्तकला सम्बन्धी सामाग्रीको उत्पादन र कोसेली घरको स्थापना गर्ने भनी आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो । यसै गरी उक्त मेलाको पहिलो दिन आयोजित चित्रकला प्रतियोगितामा समेत नवज्योति बहिरा मा वि जसेदमारका बहिरा विद्यार्थी हरिचन दास प्रथम हुनु भएका थियो ।