शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

आइतवार , मंसिर ३०, २०८१

गलकोट (बागलुङ), ३० मंसिर– बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।

स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो ।

“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ ।

प्रतिक्रिया