काठमाडौं – माओवादी आन्दोलनमा अनवरत रुपमा लागेर त्यसको उत्थानमा प्रमुख भूमिका खेल्नु भएका प्रमुख पात्रको नाम हो हरिबोल गजुरेल ।
सिन्धुलीका स्थायी बासिन्दा गजुरेल २०४८ सालदेखि निरन्तर माओवादी आन्दोलनमा जोडिनु भएको पात्र हुनुहुन्छ । उसो त त्यस अघि पनि गजुरेल कम्युनिष्ट आन्दोलनमै रहे पनि आजको नेकपा(माओवादी केन्द्र)को तत्कालीन घटकमा उहाँ सोही बेलादेखि समाहित हुनु भएको हो ।
माओवादीका शीर्ष नेताहरु मध्ये एक रहनु भएका गजुरेलको पार्टी निर्माणमा अतुलनीय योगदान रहेको छ । उहाँले विगतमा संगठन निर्माण गरी पार्टीलाई उच्च स्थानमा पुर्याएको श्रेय लिँदै हालको दूराबस्थामा पनि आफ्नो उत्तिकै भूमिका रहेको स्वीकार गर्नु भएको छ । र, त्यसको नैतिक जिम्मेवारी लिएर पदाधिकारीबाट राजीनामा दिन समेत तयार हुनु भएको छ ।
नेतृत्वले सकारात्मक कार्यको जस मात्रै लिने तर गलत परिणामको आत्मालोचना गर्दै त्यसको भागीदार नबन्ने पछिल्लो प्रवृत्तिप्रति कटाक्षस्वरुप उहाँले आफ्नो राजीनामाको प्रस्ताव पेश गरेर पार्टीमा सबैलाई नैतिकताको सबक सिकाउनु भएको छ ।
हालको नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा(एकताकेन्द्र)मा २०४८ सालदेखि समाहित हुनु भएका गजुरेल आजपर्यन्त सोही पार्टीको मूल घटकका रुपमा रहेको पार्टीमा पदाधिकारी(उपमहासचिव)का रुपमा रहनु भएको छ ।
यद्यपि यही १४ गते पदाधिकारी बैठकमा उहाँले पार्टीको वर्तमान दूराबस्थामा पुगेको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामाको प्रस्ताव पदाधिकारी बैठकमा पेश गर्नु भएको छ । उहाँको राजीनामाको प्रस्ताव फगत जिम्मेवारी मुक्त हुनका लागि मात्र नभएर चार दशक हुनै लाग्दासम्म नेतृत्वमा रहेका प्रचण्ड र पदलोलुप अन्यलाई पनि नैतिकताको बोध गर्नका लागि गरिएको प्रहारका रुपमा लिइएको छ ।
माओवादी उपमहासचिव गजुरेलको राजनीतिक इतिहासको सुरुवातदेखि नै उहाँले पदप्रति आशक्ति नदेखाएको घटनाक्रमले समेत दर्शाउँछ । तत्कालीन अवस्थामा मोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा(मसाल)मा रहनु भएका उहाँ डा.बाबुराम भट्टराई लगायतका नेताहरुको नेतृत्व गर्दै त्यहाँबाट विद्रोह गरेर प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा समाहित हुनु भएको थियो ।
त्यसबखत बाबुरामका समेत नेता रहनु भएका उहाँले एकीकृत पार्टीको नेतृत्वदायी भूमिकामा बाबुरामलाई अघि सारेर आफूले उहाँलाई सहजै नेता स्वीकार्नु भएको थियो । २०४८ साल यता बाबुराम पार्टीको जिम्मेवार नेता रहँदा गजुरेलले उहाँकै मातहत रहेर काम गर्दै आउनुभयो ।
माओवादीले सुरु गरेको जनयुद्धमा बाबुराम समानान्तर सरकारको प्रमुख रहँदा गजुरेलले पार्टीको राजनीतिक भूमिकामा रहेरहेर काम गर्दै आउनु भएको थियो । शान्ति प्रक्रियामा आए यता एक पटक कृषि मन्त्री हुनु भएका उहाँ हालसम्मै निरन्तर पार्टी र मूल नेतृत्वकै पक्षमा रहँदै आफ्नो जिम्मेवारी वहन गर्दै आउनु भएको छ ।
प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने क्रममै आफूलाई सहायक ठानेर बाबुरामलाई नेतृत्वमा अघि सार्नु भएका गजुरेलले त्यस यता पनि विभिन्न लाभका पद परित्याग गरेर आफूमा पदमोह नरहेको प्रमाणित गर्नु भएको छ ।
गत निर्वाचनमा विगतदेखि निरन्तर जित्दै आएको सिन्धुली २ मा उठ्ने तिव्र इच्छाका बाबजुद पनि अन्तिममा आफ्नो दाबी छाडनु भएको थियो । यद्यपि आफ्नै कार्यकर्ता रहनु भएका लेखनाथ दाहाल (राजन)ले नै बलजफ्ती गजुरेललाई रोकेर आफूलाई एकल उम्मेदवार सिफरिस गर्नु भएको बताइन्छ ।
अन्तिमसम्म गजुरेलले आफ्नो दाबी पेश गरेपनि पार्टी अध्यक्षबाट टिकट पाउन असमर्थ हुन भएको थियो भने दाहालले त्यहाँको टिकट पाउनु भएको थियो । तथापि दाहालको निर्वाचन परिणाममा क्षति पु¥याउने कुनै पनि क्रियाकलाप नगरेरै गजुरेलले आफ्नो उच्च राजनीतिक संस्कार प्रदर्शन गर्नु भएको थियो ।
आफूले टिकट नपाएर रुष्ट बने पनि उहाँले सिन्धुलीमा दाहालको चुनावी परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै गतिविधि नगरेरै चुनाव अवधिरभर निष्क्रयता जनाएर दाहालविरुद्ध कुनै कदम चाल्नु भएन् ।
यहाँ आफूले टिकट नपाए पछि सहकर्मीलाई हराउनै विपक्षीसँग लाग्ने प्रवृत्ति व्याप्त रहेको बेलामा उहाँले त्यसप्रकारका कुनै कार्य गर्नु भएन । यसले पनि एक राजनीतिकर्मीमा हुनुपर्ने उच्च त्यागको चरित्र उहाँले गत निर्वाचनमा स्पष्टरुपमा देखाउनु भएको थियो ।
निर्वाचनको मत परिणाम पछि माओवादी एमाले गठबन्धनसहित बनेको आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार भएकै बेलामा उहाँलाई प्रचण्डले उपराष्ट्रपति पदका लागि प्रस्ताव गर्नु भएको थियो । उहाँले सो प्रस्ताव ठाडै अस्वीकार गरेर सक्रिय राजनीतिमै रहने भन्दै पार्टीमा कार्यकारी भूमिका दिन माग गर्नु भएको थियो ।
त्यसलगत्तै मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्री रहनु भएका पार्टी अध्यक्ष प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनु भएका उहाँले त्यसबाट पनि स्वेच्छाले राजीनामा दिनु भएको थियो । दास बनेरै भए पनि पद जोगाउने विद्यमान प्रवृत्तिका अगाडि उहाँले आफ्नो सल्लाहको कुनै अर्थ नरहने भएपछि सो पद त्याग गरेकोे सार्वजनिक रुपमा स्पष्ट ढंगले बताउनु भएको थियो ।
अहिले फेरि पार्टीको उपमहासचिवबाट पनि राजीनामा दिन तयार रहेको जनाउँदै अन्य पदाधिकारीलाई पनि पार्टीको वर्तमान अवस्थाको नैतिक जिम्मेवारी लिएर पद त्याग गर्न सुझाउनु भएको छ । बाचुञ्जेल पद प्राप्तिका लागि मरिहत्ते गर्नेका लागि यो पनि उहाँको नैतिक चरित्र प्रदर्शित गर्दै आफ्नो पद त्याग गरेर अरुलाई नैतिकताको पाठ सिकाउने अदम्य साहस हो ।
पार्टीका जिम्मेवार नेताका कमजोरीको उपज वर्तमान दलको दुरावस्था उत्पन्न भएकाले त्यसको भागीदार पनि सबै रहेको गजुरेलको तर्क छ । उहाँले पार्टी कमजोर हुनुका पछाडिका हरेक क्रियाकलापमा आफ्नो पनि सहमति रहेकाले त्यसको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताउनु भएको छ ।
यस अघि अध्यक्ष प्रचण्डले गरेका हरेक सही एवं गलत निर्णय सबैको सर्वसहमतिमा गरिएकाले पार्टी कमजोर हुनुमा सम्पूर्ण पदाधिकारीको भूमिका रहेको उहाँको प्रष्टोक्ति छ । तसर्थ सबैले आत्मसमीक्षा गर्नुपर्ने उहाँ बताउँनुहुन्छ । त्यसकै लागि आफूले सोमबार आफूले आफूसहित सबै पदाधिकारीले राजीनामा दिएर नैतिक जिम्मेवारी लिन लिखित प्रस्ताव नै पेश गरेको उहाँले बताउनुभयो ।डिसि नेपालबाट