शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अवैद्य उत्खनन रोक

शुक्रवार , फाल्गुण २५, २०८०

सिन्धुलीका स्थानीय तहले नदिजन्य पदार्थको उत्खननकालागि लाखौँ रकम खर्चेर बोलपत्र आह्वान गरेपनि ठेक्का लाग्न सकेको छैन । ठेक्का नलागेपछि जिल्लाका जनप्रतिनिधिलाई के खोज्छ, कानो आँखो जस्तै भएको छ । नदिजन्य पदार्थ उत्खननको ठेक्का नलागेपछि जनप्रतिनिधिकै मिलेमत्तोमा जिल्लामा अवैद्य रुपमा ढुंगा, बालुवा उत्खनन गर्ने क्रम रोकिएको छैन । वडादेखि नगरपालिका र गाउँपालिकामा निर्वाचित जनप्रनिधिकै आँखा अगाढीनै ढुंगा, बालुवा उत्खनन भइरहेको छ । ठेक्कै नलागेको खोलामा लामबद्ध ट्रयाक्टर देख्दादेख्दैपनि जनप्रतिनिधि मौन बस्नुले जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक सम्पदाको दोहन भइरहेको सजिलै अनुमान लगाउन सकिन्छ । रातमा मात्रै नभएर दिउँसै पनि अवैद्य रुपमा नदिजन्य पदार्थ उत्खनन भइरहेको छ । स्थानिय सरकार निकम्मा हुँदा तेश्रो पक्ष लाभान्वित भइरहेको स्थानियले बताएका छन् । अवैद्य उत्खननविरुद्ध औँला उठाउनेलाई ठेकेदारले पैसाले मुख बन्द गराइदिने गरेको स्थानिय स्वयं बताउँछन् । जिल्लामा नदिजन्य पदार्थको निर्वाध रुपमा अवैद्य कारोबार हुँदा समेत जिल्ला समन्वय समिति, स्थानीय सरकार, जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय मौन बस्नु निर्लज्जताको हद हो । तसर्थ, अवैद्य क्रियाकलापलाई रोक्न नियमनकारी निकाय गम्भिर हुन जरुरी छ ।

स्थानिय सरकार नागरिकको नजिकको सरकार हो । संघीयता आएपछि गाउँगाउँमा नियमनकारी निकायको वृद्धि भएको छ । तर, सिन्धुलीमा टोलदेखि वडासम्म अराजकता र कुशासन फस्टाइरहेको छ । तसर्थ, आँखै अगाढी नदिजन्य पदार्थ उत्खनन हुँदा समेत आँखा चिम्लिने वडादेखि नगर र गाउँपालिकाको जनप्रतिनिधिलाई आँखा देख्ने बनाउन जिम्मेवार निकायले विशेष कार्यक्रम संचालन गर्न जरुरी छ । अतः प्रकृतिमाथि निश्चित व्यक्तिको सिन्डिकेट र अवैद्य क्रियाकलापलाई रोक्न सम्बन्धित निकायले शुन्य सहिष्णुता अपनाउन जरुरी छ ।

प्रतिक्रिया